जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो

जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो

चितवनः विसं २०७८ को जनगणनाअनुसार जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ।

पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्यांक कार्यालय चितवनले जनाएको हो। 

कार्यालयले आज यहाँ आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा विसं २०६८ को जनगणनामा जनसंख्या वृद्धिदर २.६ रहेको थियो।

२०७८ सालमा जिल्लामा जनसंख्या वृद्धिदर २.७ प्रतिशत रहेको छ।

उनका अनुसार विसं २०६८ को जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर रहेकोमा अहिले बढेर तीन सय २५ पुगेको छ। जिल्लाको जनसंख्या सात लाख १९ हजार आठ सय ५९ रहेको छ।

तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरुष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्यांकले देखाएको छ।

२०६८ मा जिल्लाको जनसंख्या ५ लाख ७९ हजार नौ सय ८४ थियो। पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन्।

परिवारको औसत आकार ४.१ रहेको भण्डारीले जानकारी दिए।

जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएको कार्यक्रममा जानकारी दिइयो।

जिल्लामा स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन्। तीमध्ये पुरुष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन्।

१६ हजार चार सय ९६ अपाङ्गता भएका व्यक्ति रहेको कार्यक्रममा जानकारी दिइयो।

तीमध्ये आठ हजार सात सय ६७ पुरुष र सात हजार सात सय २९ महिला रहेका छन्। जिल्लाको साक्षरता दर ८३.६८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

जेठ ११, २०८० बिहीबार २१:५४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।