बागमती प्रदेशमा सार्वजनिक गाडीको भाडा घट्यो

बागमती प्रदेशमा सार्वजनिक गाडीको भाडा घट्यो

काठमाडौँः बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज सार्वजनिक गाडीको भाडा घटाएको हो। नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो।

मन्त्रालयले घटाएको भाडादर आजै राजपत्रमा प्रकाशित भएको छ।

काठमाडौँ उपत्यकाभित्र ५.९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४.१८ प्रतिशत र मालवाहक गाडीमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए।

उनले भने, 'नयाँ भाडा दर आजै राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुनेछ।'

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए।

नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो। लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो। लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ। 

गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले भाउ घटाएको थियो।

घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ कायम भएको छ। अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो।

बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्नेबित्तिकै रु २० भाडा तिर्दै आइरहेका छन्।

जेठ ११, २०८० बिहीबार १९:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।