रातो मच्छिन्द्रनाथको रत्नजडित भोटो देखाइयो (फोटोफिचर)

रातो मच्छिन्द्रनाथको रत्नजडित भोटो देखाइयो (फोटोफिचर)
प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन्। जात्रामा जीवित देवी कुमारी पनि थिइन्।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ।

भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि राख्न लैजाने परम्परा छ।

सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ।

भोटो जात्राको अवलोनकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो।

लोक कथनअनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको थियो।

पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्यो। दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्यो।

विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्। उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ।

११ जेठ, २०८०, १८:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।