शरणार्थी प्रकरणमा जो कोही‍ पनि अनुसन्धानको दायरामा पर्नसक्छ : गृहमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणमा जो कोही‍ पनि अनुसन्धानको दायरामा पर्नसक्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताए।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रकरणले नेपालीलाई लज्जित बनाएको बताए।

उनले यस प्रकरणले सुशासन कायमका सन्दर्भमा चुनौती खडा गरेकाले राजनीतिक दबाब र अवाञ्छित प्रभावबाट मुक्त भई अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिइएको बताए।

‘भ्रष्टाचार र कमिसनको जालोलाई नतोड्दासम्म समृद्धिको यात्राले तीव्रता पाउन सक्दैन। यस मामिलामा नेपाल सरकार र प्रहरीको संयन्त्र स्पष्ट छ। यही आधारमा स्वतन्त्र भई अनुसन्धान गरी कुनै पनि दोषी नउम्किउन् र निर्दोश नपरुन् भन्ने सिद्धान्तका साथ हामीले काम गरिरहेका छौं’, उनले भने। 

कुनै पनि पार्टी वा नातागोताका आधारमा अपराधलाई संरक्षण नगरिने भन्दै उनले बाहिर चर्चामा आएका व्यक्तिका सम्बन्धमा तथ्य र प्रमाण पुगेका जुनसुकै बेला प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सक्ने बताए।

नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्री सहित ३० जनालाई बुधबार राज्यविरुद्धको अपराध, ठगी र किर्ते लगायतका मुद्दा दायर गरिसकेको छ।

जेठ ११, २०८० बिहीबार १४:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।