दुवै खुट्टा नभए पनि सगरमाथा चढेका हरिलाई सभामुख र उपसभामुखको सम्मान

दुवै खुट्टा नभए पनि सगरमाथा चढेका हरिलाई सभामुख र उपसभामुखको सम्मान

काठमाडौं : सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभए पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सम्मान गरेका छन्।

बालुवाटारस्थित सभामुख निवासमा आज बधाई दिंदै उनीहरूले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै बुढामगरको प्रशंसा गरे। सो क्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई पत्र हस्तान्तरण गरे।

बधाई पत्रमा उनले युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राखेको विश्व कीर्तिमान युगौंयुगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरिएको उल्लेख छ।

‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ। नेपालीले तपाईं प्रति गौरव गरिरहनेछन्,’ सभामुख घिमिरेले भने।

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन आग्रह गरिन्।

रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।

जेठ ११, २०८० बिहीबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।