लगातार मुद्दा परिरहेपछि रविको चेतावनी : घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ

लगातार मुद्दा परिरहेपछि रविको चेतावनी : घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहदानी र नागरिकताका विषयमा आफूलाई इरिटेट पारिएको बताएका छन्।

राहदानी र नागरिकताका विषयमा लगातार मुद्दा परिरहे पछि उनले आज सामाजिक सञ्जालमा दिक्दारी पोखेका छन्।

‘मुद्दा हाल्नु र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले लेखेका छन्।

रविले सर्वोच्च अदालतको  मिति २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा उनले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य स्पष्ट भइसकेको बताएका छन्।

साथै यसपछि अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरि नेपाली नागरिकता पुनः कायम गराइसकेको पनि उनले उल्लेख गरे।

उनले थप लेखेका छन्, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/२/९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/३/६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएँ। टेलीभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलिसकेको थिएँ।’ 

अन्त्यमा उनले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने चेतावनी समेत दिएका छन्।

जेठ ११, २०८० बिहीबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।