५ महिनादेखि तलब नपाएपछि तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी स्वास्थ्यकर्मीहरुले ५ महिनादेखि तलब पाएका छैनन्। पुस मसान्तदेखि तलब नपाएको भन्दै हाल ७७ जना स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन्।
४५ जना दरबन्दी र ३३ जना दरबन्दी मिलान गरेका गरी ७७ जनाले गत ५ महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मी ज्ञानप्रसाद पौडेलले बताए।
स्वास्थ्यकर्मीहरुले अहिले तलब नपाउँदा दैनिक खर्च समेत ऋण खोजेर गर्नुपर्ने अवस्था आएको बताए। तर यस्तो अवस्थामा पनि तलब खुवाउन स्थानीय सरकारले समेत चासो नदिएको उनीहरुको भनाइ छ।
पटक पटक तलबको विषयमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी दिए पनि कुनै सुनुवाइ नभएपछि तलब पाउनुपर्ने मागसहित चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गरेको पौडेलले बताए।
‘हामीले जेठ ८ गते सात दिनको समय अवधि दिएर नगरपालिकामा समस्याको समाधान गर्न भन्यौं। तर कुनै सुनुवाइ नभएपछि ८ गतेदेखि विरोध स्वरूप कालोपट्टि बाँधेर सेवा प्रदान गरेका छौ,’ उनले भने।
शान्तिपूर्ण आन्दोलन मार्फत स्वास्थ्यकर्मीहरुले १३ सुत्रीय माग समेत अघि सारेका छन्।
पुसदेखिको तलब अविलम्ब उपलब्ध गराउनुपर्ने, कोभिड वीमाबापतको रकम पाउनुपर्ने, सबै कर्मचारीलाई समानता र आवश्यकताका आधारमा इन्धन खर्च दिनुपर्ने, नगरपालिकाका थप भएका १० वटा स्वास्थ्य संस्था र आधारभूत नगर अस्पतालमा आवश्यक कर्मचारीहरुको स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने, औषधीको नियमित उपलब्धता हुनुपर्ने माग उनीहरुले राखेका छन्।
साथै उनीहरुले समग्र बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि हुनुपर्ने समेत बताएका छन्।
यता ७७ जना कर्मचारीले तलब नपाएर आन्दोलन गरिरहँदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धुब्रराज घिमिरेले भने तलब बुझिरहेको स्वास्थ्यकर्मी पौडेलले बताए।
राजनीतिक पहुँचका आधारमा काजमा आएका घिमिरेले पुस, माघ र फागुन महिनाको तलबवापत एक लाख ५२ हजार रुपैयाँ बुझेको बताइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब सरकारले नपठाउँदा समस्या भएको बताए।
जेठ ११, २०८० बिहीबार ०७:५४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।