इन्द्रजितको बडीगार्डको बयान' कार्यकक्षमै केशव, सानु अनि टोपबहादुरसँग हात हालाहालको अवस्था भएपछि छुट्टाए'

इन्द्रजितको बडीगार्डको बयान' कार्यकक्षमै केशव, सानु अनि टोपबहादुरसँग हात हालाहालको अवस्था भएपछि छुट्टाए'

काठमाडौँ : तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अहिले हिरासतमा छन्। कारण नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर सङ्गठित अपराध गरेको।

उनले आरोप अस्वीकार गरेका छन्। तर अर्का आरोपी टोपबहादुर रायमाझीको बयानको दाबीले भने उनी अप्ठ्यारोमा परे।
रायमाझीले एक पटक आफू गृह मन्त्रालयमा राईको कोठा बाहिर बसेको बेलामा भित्र चर्को स्वर सुनेपछि कोठामा जाँदा राई, केशव दुलाल अनि सानु भण्डारीबिच लेनदेनमा झगडा परिरहेको देखेको दाबी गरे।

राईले बयानमा त्यस्तो केही हैन भनेर टारेका छन्।

तर गृह मन्त्रालयले उनको सुरक्षाका लागि खटाएको बडीगार्ड दुर्गा बहादुर रानाको बयानमा विवाद मात्र हैन कुटाकुटकै अवस्थामा पुगेको देखिन्छ।

उनले बयानमा रायमाझीसहित झगडा परेको र हात हालाहालै हुने अवस्था देखेपछि छुट्टाएर टोपबहादुरसहित दुलाल अनि भण्डारीलाई इन्द्रजितको कार्यकक्षबाट बाहिर निकालेको बयान दिएका छन्।

अब रानाको बयान :

म २०७४ सालदेखि गृह मन्त्रालयमा कार्यरत रहेको थिएँ। पहिले मन्त्रालय सुरक्षा ड्युटी गरिरहेकोमा २०७७ पुस १६ देखि सोही असार महिनासम्म गृह मन्त्रीको सुरक्षा सल्लाहकार इंन्द्रजीत राईको व्यक्तिगत सुरक्षा अधिकृतको रूपमा कार्यरत थिएँ।

सानु भण्डारी, केशव प्रसाद दुलाल र टोप बहादुर रायमाझी ईन्द्रजीत राईको कार्यकक्षमा बारम्बार आइरहने मानिसहरू भएकोले चिन्छु। यस बाहेक अन्यलाई चिन्दिन।

उनीहरू, इन्द्रजीत राईको कार्यकक्षमा बारम्बार आइरहने भएता पनि कार्यालय भित्र के के कुरा हुन्थ्यो मलाई थाहा छैन।

२०७७ को साउन-भदौ महिनातिर एक पटक सानु भण्डारी, केशव प्रसाद दुलाल र टोपबहादुर रायमाझी ईन्द्रजीत राईको कार्यकक्षमा भएकै समयमा विवाद भएर हात हालाहालसम्मको अवस्था भएपछि म समेत गई छुट्टाएर सानु भण्डारी, केशव प्रसाद दुलाल र टोप बहादुर रायमाझीलाई  राईको कार्यकक्ष बाहिर लगेको हो।

तर निजहरूको के विषयमा विवाद भएको हो भन्ने मलाई तत्काल थाहा भएन।

त्यतिबेला मलाई ईन्द्रजीत राईले अबदेखि यिनीहरूलाई भित्र पस्न नदिनु भन्ने आदेश दिएका थिए।

हाल बुझ्दा सो बखत निजहरूबिच नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी लिएको रकमको सम्बन्धमा विवाद भएको रहेछ।

१० जेठ, २०८०, ००:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।