ग्रेडिङअनुसार प्राविधिकलाई पारिश्रमिक दिने निर्णय, प्राविधिक संघले गर्‍यो स्वागत

ग्रेडिङअनुसार प्राविधिकलाई पारिश्रमिक दिने निर्णय, प्राविधिक संघले गर्‍यो स्वागत

काठमाडौँः चलचित्र निर्माता संघले ग्रेडिङअनुसार प्राविधिकलाई पारिश्रमिक दिने निर्णयको प्राविधिक संघले स्वागत गरेको छ।

बुधबार बसेको निर्माता संघको कार्यसमिति बैठकले ग्रेडिङअनुसार प्राविधिकलाई पारिश्रमिक दिने निर्णय गरेको थियो। निर्माता संघको निर्णयपछि  प्राविधिक संघले स्वागत गरेको हो। 

यस विषयमा प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले उकेरासँगको कुराकानीमा भने,‘ निर्माता संघले ग्रेडिङअनुसार पारिश्रमिक दिने निर्णयमा हामीलाई कुनै आपत्ति छैन। निर्माता संघले ग्रेडिङअनुसार प्राविधिकहरूलाई पारिश्रमिक दिने भन्ने समाचार पढेर थाहा पाएँ। यो निर्णय हाम्रा लागि स्वागतयोग्य छ।’

अहिले नेफ्टा अवार्डको काममा व्यस्त भएका कारण यस बारेमा छलफल नभएको समेत अध्यक्ष लामाले बताए। 

यता निर्माता संघका अध्यक्ष नवल खड्काले ग्रेडिङको आधारमा पारिश्रमिक दिने निधो भएता पनि प्राविधिक संघमा छलफल गर्न बाँकी रहेको बताए। 

उनका अनुसार नयाँ र पुरानालाई बराबर पैसा दिन नसकिने र ग्रेडिङअनुसार प्राविधिकलाई पैसा दिने कुरा गरिएको हो। 

प्राविधिक संघले वैशाखबाट सिफ्ट सिफ्टम लागु गरेको थियो। प्राविधिकहरूले सिफ्टअनुसार १२ घण्टा मात्रै काम गर्ने भएपछि सोहीअनुसार आफूहरूले ग्रेडिङअनुसार पारिश्रमिक दिने निर्णय आजको बैठकमा गरिएको  खड्काले बताए। 

‘प्राविधिक संघले सिफ्ट सिस्टम अनुसार काम गर्ने भनेर १२ घण्टा मात्रै काम गर्न थाल्यो। हामीले के भनेको भने ठिक छ सिफ्ट लागु गर्छौँ भने लगाऊँ हामी पनि ग्रेडिङ गर्छौँ’,उनले भने, ‘जस्तै एउटा प्रफेक्ट लाइटमेनले २ हजार पाउँछ भने अर्को अर्ध प्रफेक्ट लाइटमेनले पनि २ हजार नै पाउँछ। अनि भर्खर सिक्दै गरेकोलाई पनि २ हजार दिन सकिँदैन नि त। पूर्ण ज्ञान,अर्धज्ञान भएकाहरूलाई त्यहीअनुसार ग्रेडिङ गर्नुपर्छ र हामी त्यहीअनुसारको रकम दिन्छौँ।’ 

फिल्म प्राविधिकहरूले दिनको २ हजार देखि ३ हजार रुपैयाँसम्म रकम लिँदै आएका छन्।  

१० जेठ, २०८०, २१:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।