नक्कली शरणार्थी अनुसन्धानमा फेला पर्‍यो सुन तस्करीको क्लु, खाँणका स्वकीय सचिवले लेखेका थिए', 'आईजीपीलाई भनेको छु'

नक्कली शरणार्थी अनुसन्धानमा फेला पर्‍यो सुन तस्करीको क्लु, खाँणका स्वकीय सचिवले लेखेका थिए', 'आईजीपीलाई भनेको छु'

काठमाडौँ : नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख स्वकीय सचिव नरेन्द्र केसी सुन तस्करीमा समेत संलग्न रहेको हुन सक्ने देखिएको छ। प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा केसीलाई पक्राउ गरेर उनको मोबाइलको अनुसन्धान गर्दा सुन तस्करीसँग जोडिएको सन्देश समेत फेला परेको हो।

बुधवार जिल्ला अदालत काठमाडौँमा पेस भएको अभियोग पत्रको पाना नम्बर १३८ मा उल्लेख गरिएको विवरणमा केसी र नक्कली शरणार्थी प्रकरणमा जोडिएका केशवप्रसाद दुलालबिच सुन तस्करीबारे कुराकानी भएको सन्देश समेत राखिएको छ।

अभियोग पत्रमा उल्लेख गरिएको मिसिलमा दुलाल र केसीबिच ह्वाट्स एपमा भएको कुराकानी उल्लेख छ। दुलालले केसीलाई' रोमन अक्षरमा' सर एयरपोर्टमा गोल्ड को लाइन दिन सकिन्छ बिग प्रोग्रामका लागि' भनेर सन्देश पठाएका थिए।

त्यसको प्रतिउत्तरमा केसीले'आइजिपीसँग भनेको छु' लेखेका छन्। त्यो बेला प्रहरी महानिरीक्षकमा धिरज प्रताप सिंह थिए। अभियोग पत्रमा उल्लेख गरिएको प्राविधिक प्रतिवेदन अनुसार केशव दुलालले चलाउने सामसुङ कम्पनीको मोबाइलमा रहेको भाइवर अकाउन्टमा टिएनपी पाण्डे टु नाममा रहेको नम्बरमा भुटानी शरणार्थीको कार्डबारे भएको कुराकानीसँगै केसीलाई ह्वाट्स् एपमा सुन तस्करसहित विभिन्न विषयमा आर्थिक लेनदेन सम्बन्धी कुराकानी भएको उल्लेख छ।

अभियोग पत्रमा त्यसबारे अन्य विवरण उल्लेख छैन। तर प्रहरीले चाहेमा संगठित रुपमा हुने सुन तस्करीबारे समेत अनुसन्धान गर्ने क्लु भने फेला पारेको छ।

१० जेठ, २०८०, २०:१८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।