पशुपतिको ३० रोपनी जग्गामा बसेका सुकुम्बासी हटाउन मेरै पार्टीका नेताले दिएनन् : प्रेम आले

पशुपतिको ३० रोपनी जग्गामा बसेका सुकुम्बासी हटाउन मेरै पार्टीका नेताले दिएनन् : प्रेम आले

काठमाडौं : पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रेम आलेले आफ्नै पार्टीका नेताका कारण पशुपति क्षेत्र विकास कोषको ३० रोपनी जग्गा ओगटेर बसेका गोठाटारका सुकुम्बासी हटाउन नसकिएको खुलासा गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा सांसद् आलेले आफू मन्त्री हुँदा पशुपति क्षेत्र विकास कोषको नाममा भएको ५३४ रोपनी जग्गालाई पूर्ण रूपमा ल्याउन खोजे पनि आफ्नै पार्टीका नेताले नदिएको खुलासा गरेका हुन्।

उनले भने, ‘गोठाटारमा ३० रोपनीमा बसेका जगल्टे, मुकुल्टे ती डनहरूलाई हटाउन मैले डोजरको व्यवस्था गरेको थिएँ। तर मेरै पार्टीका केही दूरदर्शी नेताहरूले भैगो अहिले चुनाव छ नगर भने। अब नेताले भनेपछि मान्नैपर्यो। एउटा वडासदस्य पनि जितेन हेर्नुस्।’

यस्तै सांसद् आलेले अहिलेका मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको ३० रोपनी जग्गा सुकुम्बासीलाई छाड्न लागेको विषय आफूले सुनेको भन्दै प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन्।

‘अहिलेको मन्त्रीले कता-कता सुनिराखेको छु, ती विचरा सुकुम्बासीहरू ३० रोपनी खाए खान्छन् म त पुर्जा दिन्छु भनेर हैकमबाजी जमाइराखेको छ। प्रधानमन्त्रीज्यूलाई म ध्यानाकर्षण गराउन चाहन्छु, पशुपति क्षेत्र विकास कोषको ३० रोपनी जग्गा तलमाथि भयो भने छाड्नेवाला छैन।’

जेठ १०, २०८० बुधबार १४:१०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।