शरणार्थी प्रकरणमा खुट्टा कमाए विकल्प खोज्ने गगनको चेतावनी

शरणार्थी प्रकरणमा खुट्टा कमाए विकल्प खोज्ने गगनको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले खुट्टा कमाए विकल्प खोज्ने चेतावनी दिएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद् थापाले यस प्रकरणमा सरकारको वास्तविक परीक्षा आएको भन्दै खुट्टा नकमाउन सुझाव दिएका छन्।

उनले भने, ‘सरकारले गरेको अनुसन्धान प्रक्रिया फेयर भइरहेको छ भन्ने भयो भने सबैले वाहीवाही गर्ने हो, तर कहिँ न कहिँ लकपकाएको छ भन्ने भयो भने विकल्पहरुको बारेमा खोजी हुन्छ।’

भुटानी शरणार्थी प्रकरणलाई सरकारले राम्रो तरिकाले टुंग्याए सरकारको बाचामा विश्वास हुने भन्दै उनले छानबिनले छोएका सबैमाथि निश्पक्ष अनुसन्धान गर्न माग गरे।

‘अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन्,’ उनले थपे, ‘चाहे त्यो सलाम गर्ने मान्छे होस् चाहे सलामी लिने होस्, जसलाई छोएको छ, जसको नाम आएको छ त्यसको फेयर अनुसन्धान हुनुपर्छ। अनुसन्धान भएन, मैले गरिन भन्ने कुराले कसैले पनि छुट पाउँदैन।’

सरकारको पछि न्यायालयको परीक्षा आउने भन्दै थापाले घरको मान्छे भए पनि बार्दलीको भए पनि छाड्न नहुनेतर्फ सरकारलाई सचेत गरएाका छन्।

‘यसमा सरकारको परीक्षा छ, सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा हुनेछ। राज्यविरुद्धको अपराधमा संलग्न एक–एक मान्छे, चाहे त्यो घरको मान्छे होस् चाहे बार्दलीको मान्छे होस् चाहे नेता होस् चाहे नाता होस्, एक जना मानिस पनि छुट्नुहुँदैन। दूधको दूध पानीको पानी हुनुपर्छ। आम नेपालीले चाहेको कुरा यही हो।

जेठ १०, २०८० बुधबार १२:३७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।