संसदमा रवि लामिछानेको दुई मिनेट- ‘प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कहाँ गएर चेक गर्ने?’ (भिडियो)

संसदमा रवि लामिछानेको दुई मिनेट- ‘प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कहाँ गएर चेक गर्ने?’ (भिडियो)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय छानविन समिति बनाएर अनुसन्धान गर्नुपर्ने माग गरेको छ।

प्रतिनिधि सभाकाे बैठक सुरू भएलगत्तै आकस्मिक समय माग गर्दै बाेलेका रास्वपा सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने माग गरेका हुन्।

उनले छानबिनमा कसैकाे पनि विश्वास गर्ने वातावरण नभएकाे भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले दरो बनाएको मुटु कहाँ गएर चेक गर्ने भन्दै प्रश्न गरे।

‘जुन छानबिन गर्ने निकाय छन्, कसैको पनि विश्वास गर्ने वातावरण भएन। जसजसको नाम आएको छ, उनीहरुलाई छानविनको दायरामा ल्याउन नदिने, सोधपुछसम्म नगर्ने गरी किन डराएको? गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, प्रधानन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो। उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने? जोडिएका मान्छेहरूसँग सोधपुछ हुनुपर्यो। खुट्टा कमाउनुभएन। कारबाहीको दायरा ल्याउनुपर्छ। सोधपुछका लागि बोलाउनसमेत नहुने, को हो उहाँहरू?’

शरणार्थी प्रकरणमा राज्यकै निकायहरू र अनुसन्धान प्रमुखहरूको नामसमेत आइरहेकाले कसैको विश्वास गर्ने वातावरण नभएको उनले बताए।

‘अनुसन्धानका प्रमुखहरूकै नाम आइरहेको छ। दिनको उज्यालोमा बालुवाटार, मन्त्रीक्वाटर, सिंहदरबारमा लेनदेन भएको विषय आएका छन्। यो राज्यमा हामीले कसलाई विश्वास गर्ने?’ उनले प्रश्न गरे।

जेठ १०, २०८० बुधबार ११:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।