झुटो निवेदन दिएर तलबी अध्ययन बिदामा बसे वायु सेवा निगमका वरिष्ठ सहायक पन्थी

झुटो निवेदन दिएर तलबी अध्ययन बिदामा बसे वायु सेवा निगमका वरिष्ठ सहायक पन्थी

काठमाडौं : नेपाल वायुसेवा निगमका वरिष्ठ सहायक ऋषिकेश पन्थीले नेपाल वायुसेवा निगम कर्मचारीहरूको सेवा सर्तसम्बन्धी विनियमावली, २०५८ विपरीत निवेदन पेश गरी तलबी अध्ययन बिदा लिएको खुलेको छ। 

उकेराले प्राप्त गरेको कागजातअनुसार २०७४ कार्तिक २० गते पन्थीले  तत्कालीन महाप्रबन्धकलाई सम्बोधन गरेर लेखेको पत्रमा आफ्नै निजी प्रयासमा विद्यावारिधिको अध्ययन गर्न जाँदा छलकपट ढंगले झुक्याई ३ वर्ष तलबी बिदा लिएको (माग गरेको) देखिएको छ। 

निवेदनमा पन्थीले ‘...व्यवस्थापन संकायले कार्तिक १२ गते विद्यावारिधिको दरखास्त आह्वान गरेको र मैले सोही संकायमा  जनप्रशासन क्याम्पसमा जनप्रशासनमा एमफिल समेतको अध्ययन पूरा गरेको र विद्यावारिधिका लागि योग्यता पुगेको हुँदा, विद्यावारिधि गर्ने तीव्र इच्छा भएको हुँदा नेपाल वायुसेवा निगम कर्मचारीहरूको सेवा सर्तसम्बन्धी विनियमावली, २०५८को दफा ११८ बमोजिम बिदाको व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछु,’ लेखेका छन्। 

उनले जुन आधार खुलाएका छन् त्यसमा उनको बदमासी देखिएको छ। उनले आफ्नै निजी प्रयासमा अध्ययन गर्न जाँदा विनियमावली, २०५८ को विनियम ११८ (२) बमोजिम बेतलबी बिदा मात्र पाउने अवस्थामा सोको बर्खिलाफ हुनेगरी विनियम ११८ (१) बमोजिम तलबी अध्ययन बिदा लिएका हुन्।

जबकि विनियम ११८ (१) को प्रावधानमा ‘निगमलाई उपयोगी हुने विषयमा नेपाल सरकार वा निगमले मनोनयन गरी पठाएमा त्यस्तो कर्मचारीलाई सेवा अवधिभर तीन वर्ष अध्ययन बिदा दिनू' उल्लेख छ।

तर यस्तो बिदा स्नाकोत्तरभन्दा कम शैक्षिक योग्यताको लागि भने पाइने छैन।  यस्तो बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउने पनि उल्लेख गरिएको छ। 

त्यस्तै विनियम ११८ (२) को प्रावधानमा कुनै कर्मचारीले निगमको पूर्वस्वीकृति लिई निजी प्रयासमा अध्ययन गर्न जाने कर्मचारीलाई दुई वर्षसम्म अध्ययन बिदा दिन सकिने लेखिएको छ। यस्तो बिदामा बस्ने कर्मचारीले भने तलब पाउने छैनन् र निजको बेतलवी अध्ययन बिदा निजको सेवा अवधिमासमेत गणना नगरिने स्पष्ट पारिएको छ। 

विनियमको प्रावधानअनुसार विनियम ११८ (१) बमोजिम तलबी बिदा पाउन निगमले सबै कर्मचारीहरूले भाग लिन पाउने गरी सूचना दिई छनोट भएपश्चात् मनोनित गरी पठाएको हुनुपर्छ। तर उनको हकमा त्यस्तो भएको देखिँदैन। 

निजी प्रयासमा अध्ययन गर्न गएकाले निज पन्थीले विनियम ११८ (२) को प्रावधानबमोजिम बेतलबी बिदा मात्र पाउने प्रस्ट हुँदा-हुँदै विनियम ११८ (१) बमोजिम तलबी अध्ययन बिदा लिनु विनियमविपरीत देखिएको हो।

त्यति मात्रै होइन सेवा अवधि नजोडिने अवस्था हुँदाहुँदै कार्यकारी युवराज अधिकारी र मानव संशाधन प्रमुख अशोक सिग्देलले बढुवा नै गरिदिएको समेत खुलेको छ। 

यसबारे निगमका सहायक प्रवक्ता गणेश घिमिरेसँग जिज्ञासा राख्दा घिमिरेले पन्थी तलबी अध्ययन बिदामा बसेको पुष्टि गरे। तर विनियमबमोजिम भएन नि भन्ने उकेराको प्रश्नमा छानबिन गर्ने निकायले गर्ला नि भन्दै उम्किए।

‘उहाँ तलबी अध्ययन बिदामा बस्नुभएको साँचो हो। तीन वर्षको बिदा लिनुभएको हो,’ उनले भने, ‘नियमअनुसार भयो कि भएन छानबिन गर्ने निकायले गर्ला नै।’ 

त्यतिबेला महाप्रबन्धक शुभरत्न कंसाकार थिए। उनैले बिदा स्वीकृत गराएका देखिन्छ। पन्थी भने एमालेनिकट कर्मचारी हुन्।

जेठ १०, २०८० बुधबार ००:२६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।