चुनावी नारा मात्र बनेको नौमुरे आयोजना, यसैलाई देखाएर टोपबहादुरले चुनाव जितिरहे
बुटवलः अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना सधैँ नेताहरूका लागि चुनावी नारा बन्छ।
२०४३ सालमा सर्वेक्षण गरिएको नेपालकै नमुना नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना अहिलेसम्म बेवारिसे छ। ३६ वर्षअघि भौगर्भिक र पानीको बहाव परीक्षण गरिएको आयोजना अहिले पनि अनिश्चितजस्तै बनेको छ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका-७ लामातालमा कार्यालय सञ्चालन गरिए पनि त्यहाँ कार्यरत १० जना कर्मचारीले पर्याप्त काम पाउन सकेका छैनन्। त्यो केवल कर्मचारी सेट गर्ने थलो बनेको छ।
हाल यो नौमुरे बहुउदेश्यीय जलविद्युत् आयोजनाको विस्तृत अध्ययन पूरा भएको छ। इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट प्रालि, एकिओना इन्जिनियरिङ एसए स्पेन तथा नेपाल इन्भाइरोमेन्ट एण्ड साइन्टिफिक सर्भिसेज प्रालिको जेभीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएसँगै आयोजनाको अध्ययन पूरा भएको हो। तर त्यसबाहेक अरू कामले गति भने लिन सकेको छैन।
यही आयोजनाको नाम भजाउँदै लगातार ४ पटकसम्म अर्घाखाँचीबाट चुनाव जितेका हाल भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता टोपबहादुर रायमाझीले पनि जनतालाई पटक-पटक आश्वासनको पुलिन्दा बाँडेका स्थानीयहरू बताउँछन्।
‘चुनावमा सधैँ यही एजेण्डा बनाए। नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने बताउने। तर केही कामपछि नगर्ने परिपाटी सबै नेताको छ’, स्थानीय लालबहादुर राउतले भने।
पश्चिम राप्ती नदीको पानीलाई आधार मानेर सिँचाइ र जलविद्युत् उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना सुरूमा भारत सरकारले बनाउने सम्झौता भएको थियो। पछि तत्कालीन पहिलो संविधानसभामा यसको विरोध भएपछि आयोजनाको काम अघि बढ्न सकेको थिएन।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको बेला नौमुरे आयोजनाबारे भारतसँग सम्झौता भएको थियो। भारतले आफैँ आयोजनाको काम अघि बढाउने र यहाँको पानीलाई लक्ष्मणपुर बाँधमा पुर्याउन चाहेको रहस्य खुलेपछि यसको नेपालमा विरोध भयो। त्यसपछि यो आयोजना अलपत्र पर्यो।
अहिले यो आयोजनालाई सरकार आफैँ अघि बढाइरहेको छ। सरकारले नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत नौमुरे जलविद्युत् आयोजना, लामाताल जलविद्युत् आयोजना र सुराइनाका जलविद्युत् आयोजना गरी तीनवटा आयोजना सञ्चालन गर्ने योजना बनाएको छ।
नौमुरे बहुउद्देश्यीय आयोजनाका कार्यालय प्रमुख इन्जिनियर जयराम प्रजापतिले अहिले जग्गा अधिग्रहणका लागि लागत लिने काम भइरहेको बताए। सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र विस्तृत अध्ययन सकिएको र अन्य कार्यहरू अहिले भइरहेको उनको भनाइ छ।
उनले गत वर्ष आयोजनाका लागि २४ करोड रूपैयाँ बजेट परेको भए पनि काम नहुँदा सबै बजेट फ्रिज भएको बताए।
यस्तो छ बहुउद्देश्यीय आयोजना
नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत २१८.३४ मेगावाटको नौमुरे, ८ मेगावाटको लामाताल र ५४.७ मेगावाटको सुनाइनाका आयोजना निर्माण गर्ने प्रस्ताव छ। जसको कुल विद्युत् उत्पादन २८१.०४ मेगावाट हुने लक्ष्य छ।
नौमुरे प्यूठानको सरुमारानी गाउँपालिकामा विद्युत् गृह रहने गरी निर्माण हुनेछ। आयोजनामा प्यूठानको सरुमारानी गाउँपालिका–३, अर्घाखाँचीको शीतगंगा–७ तथा ८ को सीमानामा बाँध हुनेछ।
बाँधको उचाइ नदीको सतहबाट १६९ मिटर हुनेछ। यसबाट बन्ने कृत्रिम जलाशय १८.०३ किलोमिटर हुनेछ। आयोजनामा दुईवटा पावर इन्टेक निर्माण हुनेछ। यसका लागि ९१ अर्ब लाग्ने खर्च लाग्ने अनुमान छ।
लामाताल जलविद्युत् आयोजना
यस बहुउद्देश्यीय आयोजनाअन्तर्गत बन्ने दोस्रो जलविद्युत् हो- लामाताल जलविद्युत्। यो आयोजना प्युठान र अर्घाखाँचीमा निर्माण हुनेछ।
शितगंगा नगरपालिका-७ को लामाताल गाउँमा रिरेगुलेटिङ ब्यारेज बनाइ ८ मेगावाटको विद्युत् उत्पादन गरिनेछ। जलाशययुक्त प्रकृतिको यो आयोजनाबाट ८ मेगावाट विद्युत् उत्पादन हुन्छ।
विद्युत् उत्पादनका लागि निर्माण गरिने बाधँको उचाइ १५.५ मिटर हुनेछ। यसबाट बन्ने कृतिम जलाशय १.२२ वर्ग किमिको हुनेछ। यो आयोजना निर्माणका लागि कुल ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँ लाग्ने अहिलेको अनुमान छ।
सुराइनाका जलविद्युत् आयोजना
नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत बन्ने यो तेस्रो जलाशययुक्त आयोजना हो, जुन अर्घाखाँची र कपिलवस्तुमा निर्माण हुनेछ।
लामाताल जलविद्युत् आयोजनाको टेलरेसबाट छाडिने पानी प्रयोग गरी अर्घाखाँचीको शितगंगा नगरपालिका हुँदै सुरुङमार्फत शिवराज नगरपालिकाको सुराईखोला नजिक विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ।
यसमा १८ किमीको टनेल निर्माण गरेर विद्युत् उत्पादन हुनेछ। यो आयोजना निर्माणमा कुल १८ अर्ब १४ करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
८० हेक्टरभन्दा बढी जग्गामा सिँचाइ सुविधा
यस बहुउद्देश्यीय आयोजनाअन्तर्गत कपिलवस्तुमा प्रस्ताव गरिएको नयाँ सिँचाइ आयोजनाले मात्र २९,७३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुराउने लक्ष्य राखिएको छ।
सिक्टा सिँचाइ, दाङ देउखुरी सिँचाइ आयोजना तथा कपिलवस्तु सिँचाइ आयोजनाका निमित्त क्रमशः ४२ हजार ७६६ हेक्टर, १० हजार ८०० हेक्टर र २९ हजार ७३६ हेक्टर सिँचाइ हुने प्रस्ताव गरिएको छ।
जेठ १०, २०८० बुधबार ०७:०३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।