कोशीमा आफ्नो सरकार बनाउन नपाउँदा कांग्रेसलाई छटपटी, माओवादीलाई सरकार छाड्न आग्रह

कोशीमा आफ्नो सरकार बनाउन नपाउँदा कांग्रेसलाई छटपटी, माओवादीलाई सरकार छाड्न आग्रह

काठमाडौँः एमाले नेतृत्वमा रहेको कोशी सरकारमा सहभागी दलहरूलाई समर्थन फिर्ता लिन नेपाली कांग्रेसले आग्रह गरेको छ। 

कोशीमा एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार छ। केन्द्रमा भएको सत्ता गठबन्धनअनुसार एमाले माओवादीलगायत दलहरू मिलेर त्यहाँ सरकार बनेको थियो। तर राष्ट्रपतिमा माओवादीले कांग्रेसका रामचन्द्र पौडेललाई सघाएपछि केन्द्रसँगै प्रदेश सरकारहरूसमेतमा राजनीतिक समीकरण बदलिएको थियो। 

कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको कार्यालयले आज आइतबार एक पत्र नै जारी गर्दै विशेषगरी माओवादी केन्द्रलाई कार्की नेतृत्वको सरकार छाड्न आग्रह गरेको हो।  

जेठ ४ गतेको कांग्रेस संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकारबाट फिर्तासहित बाहिरिन आग्रह गर्ने निर्णय गरेको थियो। जसअनुसार आज कांग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वोलाई पत्र पठाएका हुन्। 

पत्रमा लेखिएको छ -गठबन्धन दलहरुको मर्म र भावनाअनुरुप कोशी प्रदेशमा संघीय गठबन्धनअनुरूप नै सरकार गठन गर्न गठबन्धन दलहरुबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गर्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको मिति २०८०/०२/०४ को निर्णय बमोजिम तपाईहरुको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तय गर्नहुन आग्रह गर्दछु। 

केन्द्रीय सत्ता समीकरण फेरिएर कांग्रेस-माओवादी एक भएर अन्य प्रदेशहरूमा सरकारसमेत बनिसकेको अवस्थामा प्रदेश १ मा भने कार्की नै मुख्यमन्त्री छन्। 

जेठ ९, २०८० मंगलबार २१:२६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।