लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : मन्त्री शर्मा

लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन वापत मिडियाले पाउने रकम नरोकिने बताएकी छन्।

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराइने बताइन्।

‘अहिले रकम कटौती गरेको भन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौं,’ उनले भनिन्, ‘अर्थबाट रकम आउनेछ, यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउँछ, लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनशाय छैन।’

मन्त्री शर्माले आन्दोलनमा रहेको पत्रकार महासंघको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गर्नुभयो।

‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनशाय नभएकाले तपाईंहरूले आन्दोलन नै गर्न पर्दैन्थ्यो, अब आन्दोलन रोक्न आग्रह गर्दछु। लोककल्याणकारी विज्ञापन वापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।’

ज्ञापन बुझाउने क्रममा महासंघ केन्द्रका महासचिव रोशन पुरी, बरिष्ठ पत्रकार दामोदर दुवाडी, महासंघका प्रदेश अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोका लगायतको उपस्थिति रहेको थियो।

जेठ ९, २०८० मंगलबार १८:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।