‘गोर्खा वारियर’को प्रिमियर लण्डनमा, बेलायती राजपरिवारलाई निम्तो

‘गोर्खा वारियर’को प्रिमियर लण्डनमा, बेलायती राजपरिवारलाई निम्तो

काठमाडौं : फिल्म ‘गोर्खा वारियर’को प्रिमियर बेलायतको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा गरिने भएको छ।

मंगलबार जमलमा रहेको विश्वज्योति हलमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले आगामी सेप्टेम्बर १० मा लण्डनमा प्रिमियर गर्न लागेका जानकारी गराएका हुन्।

फिल्मको प्रिमियरमा बेलायतका राजपरिवारका साथै हलिउडका विभिन्न सेलिब्रेटी, सांसद, स्थानीय निकाय प्रमुख, बेलायती सैनिकका जनरल, ब्रिटिस गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरू तथा बेलायतस्थित नेपाली राजदूतको समेत सहभागी हुने उनले बताए।

मिलनले भने, ‘हलिउडको ३०० मिलियन अमेरिकी डलरमा बनेका सिनेमा पनि लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमियर हुन्छ। यो नेपाली फिल्म उद्योगकै गौरवको कुरा हो। अर्कोतर्फ अन्तराष्ट्रिय बजारमा नेपाली फिल्मलाई पु¥याउनका लागि हामीले यो शाहस गरेका हौं।’

बेलायतपछि हङकङ, सिंगापुर र अन्य देशमा गरेर एक महिनाभर फिल्मको प्रिमियर गर्ने निर्माण टोलीको तयारी छ।

नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुने फिल्मको पोष्ट प्रोडक्सनको काम नेपाल, भारतको मुम्बई र बेलायतको लण्डनमा भइरहेको छ। फिल्ममा सन् १९४९ को मलाया इमरजेन्सी जंगलमा गोर्खाली सैनिकले गरेको सहासिक युद्धको कथालाई समेटिएको छ।

फिल्मबाट रितेश चाम्सले नेपाली फिल्ममा डेब्यु गरेका छन्। उनीसँगै फिल्ममा  रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतको अभिनय छ।

मिलन चाम्स र गिरिराज घिमिरेले लेखेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व छ। त्यस्तै फिल्ममा सशस्त्र प्रहरीका पूर्वआईजीपी शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन सुन्न सकिन्छ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्मातामा मिलनका अलवा सुस्मिता वाइवा, सुमन राई समेत जोडिएका छन्। फिल्मको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सह निर्मातामा सुरेश राई छन्।

जेठ ९, २०८० मंगलबार १८:०५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।