आईपीएलबाट बाहिरिएपछि भावुक बनेका कोहली

आईपीएलबाट बाहिरिएपछि भावुक बनेका कोहली

काठमाडौं : रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) आईपीएलबाट बाहिरिएपछि विराट कोहलीले भावुक पोस्ट लेखेका छन्।

उनले ट्वीट गर्दै यसपटक पनि उपाधि जित्न नसकेकोमा निराश भएको बताएका छन्। उनले टोलीका बफादार समर्थकहरूप्रति आभार व्यक्त गर्दै प्रशिक्षक, व्यवस्थापन र टोलीका सदस्यहरूलाई धन्यवाद दिए। कोहलीले अर्को पटक अझ बलियो भएर आउने वाचासमेत गरे।

उनले ट्वीटमा लेखेका छन्, ‘यस सिजनमा यस्ता धेरै पल थिए, जसलाई भुल्न सकिँदैन तर हामीले लक्ष्य भेट्न सकेनौं। हामी पक्कै निराश छौं तर हामीले आफ्नो शीर उच्च राख्नुपर्छ। म टोलीका वफादार समर्थकहरूप्रति आभारी छु। म मेरो टोलीका प्रशिक्षक, व्यवस्थापन र टोलीका सदस्यहरूलाई धन्यवाद दिन्छु। हाम्रो लक्ष्य अर्को पटक अझ बलियो भएर आउनु हो।’

बैंग्लोरले लिगको अन्तिम खेलमा गुजरातसँग हार बेहोरेको थियो। आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन।

आईपीएलको दोस्रो सिजनमा आरसीबी फाइनलमा पुगेको थियो तर हारेको थियो। यसबाहेक आरसीबी २०११ र २०१६ मा पनि फाइनलमा पुगेको थियो । तर टोलीले उपाधि जित्न सकेन।

२००९ मा आरसीबी डेक्कन चार्जर्ससँग पराजित हुँदा २०११ मा चेन्नई सुपर किंग्सलाई उपाधि सुम्पियो। २०१६ मा आरसीबी फाइनलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो।

यो वर्ष फेरि कोहली नयाँ जोशका साथ खेलिरहेका छन्। उनले ६०० भन्दा बढी रन मात्र बनाएनन्, कप्तान फाप डु प्लेसिसले पनि उनलाई साथ दिए र प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक रन बनाए।

म्याक्सवेलले पनि टोलीलाई सपोर्ट गरिरहेका थिए र टोलीको बलिङ पनि राम्रो हुँदै गइरहेको थियो। आईपीएल २०२३ को अर्को राउन्डमा पुग्न आरसीबीलाई मात्र एक जित आवश्यक थियो। तर, टोली गुजरात टाइटन्ससँग पराजित हुन पुग्यो।

जेठ ९, २०८० मंगलबार १७:३५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।