प्रदर्शनकै मुखमा फिल्म ‘टुल्की’ लफडामा, निर्माता र निर्देशकबीच मनमुटाव बढ्यो

प्रदर्शनकै मुखमा फिल्म ‘टुल्की’ लफडामा, निर्माता र निर्देशकबीच मनमुटाव बढ्यो

काठमाडौं : फिल्म टुल्की जेठ १२ गते प्रदर्शन हुने पक्कापक्की छ। तर, रिलिजको मुखैमा निर्माता र निर्देशकबीच लफडा भएको छ।

फिल्मका निर्माता शेखर लामाले फिल्मका निर्देशक देवजङ्ग थापालाई बेवास्ता गर्दै एकलौटी अगाडि बढेको देखियो।

अहिले फिल्मकाे प्रोमोशन चलिरहेको छ। तर, प्रोमोशनमा चलचित्रका निर्देशक र नायक देखिएका छैनन्।

प्रेस मीटमा एक पटक निर्देशक थापा देखा परेका थिए। त्यसयता निर्देशक थापालाई निर्माताले चलचित्रको सदस्यको व्यवहारसमेत गरेको देखिएन।

निर्माता लामाले प्रोमोशनमा कलाकार सोम लामा, स्वस्तिमा कार्की र अर्का निर्माता आरपी कर्माचार्यलाई मात्र लिएर हिँडेका छन्। एउटा कार्यक्रममा भने फिल्म एडिटरलाई पनि लगेका थिए।

कलाकार सोम लामालाई नै निर्माता शेखर लामाले नायककाे रूपमा चिनाउँदै हिँडेका छन्। जबकी टिजर र ट्रेलरमा चलचित्रका नायक ‘साङ्गे’ नामका पात्र नरेन्द्र लामा भएको प्रस्टै देखिन्छ। फिल्मको पोस्टरमा समेत मुख्य पात्र नरेन्द्र लामाको तस्वीर छैन।

प्रेम कथामा आधारित चलचित्र भने पनि प्रेमी नदेखाइ पोस्टर सार्वजनिक गरिएको छ।

फिल्मको अर्को विवाद हाे- गलत नाम। चलचित्रको टिजरमा निर्देशककाे नाम देवजङ्ग थापा छ। तर त्यसयता निस्केको ट्रेलर र निर्माण युनिटले सम्प्रेषण गर्न लगाएको समाचारमा उनको नाम देव थापा मात्र छ।

युट्युबमा १० दिनअघि अपलोड भएको ट्रेलरकाे थम्बनेल हेर्ने हो भने त्यहाँ त निर्देशकको नाम समेत छैन।

त्यस्तै हालत छ नायक नरेन्द्र लामाको पनि। टिजरमा उनको नाम नरेन्द्र तामाङ छ। पछि एउटा पोस्टरमा नरेन्द्र मोक्तान भनेर आयो। जबकि उनको नाम नरेन्द्र लामा हो।

निर्देशक थापा नै चलचित्रका डीओपी हुन्। तर कतिसम्म भने निर्मातासँग सम्बन्ध चिसिएकै आधारमा फिल्मको क्रेडिट टाइटलमा लाइटकाे काम गरेका व्यक्तिलाई छाँयाकार बनाइएको छ।

टिजरमा देवजङ्ग थापालाई डीओपी दिइएको छ, ट्रेलरमा उनकाे नाम निर्देशकमा मात्र त्यो पनि देव थापा भनेर मात्र छ।

जेठ ९, २०८० मंगलबार १५:५१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।