चौथो अंग : नेपालका मिडियामा काम गरौँ भन्ने नै लाग्दैन, कि आफैँ खोल्ने कि विदेशीमा काम गर्ने

चौथो अंग : नेपालका मिडियामा काम गरौँ भन्ने नै लाग्दैन, कि आफैँ खोल्ने कि विदेशीमा काम गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको समाचार अहिले जुन मिडियामा हेर्यो, त्यसमा आइरहेको छ। यो समाचार पढ्दा म एकदमै ‘कन्फ्युज’मा परेको छु। 

मिडियामा जे जे आइरहेका छन् त्यो सबै सत्य हो त ? प्रमाणसहित किन नआएका ? जस्तोः पूर्वगृहमन्त्रीले कागज चपाएर निलेको कुरा आयो। प्रहरीले खण्डन पनि गर्यो रे। खास भएको के हो ? भोलिपल्ट मिडियामा आएन।

प्रमाणसहित भएको कुरा त प्रमाणसमेत पत्रिकामा नमिल्ला, अनलाइनमा हालिदिए त हुन्छ नि हैन? शरणार्थी प्रकरणकै समाचारमा गृह मन्त्रालयले बनाएको प्रतिवेदनमा थपिएको अनुसूचीबारे भने उल्लेख गरिएको थियो।

मलाई स्रोतका अनुसार भनेर लेखेको समाचारमा विश्वास नै लाग्दैन। दिनहुँ ‘इरिटेड’ हुने गरी शरणार्थीका समाचार त आएको छ तर एक वाक्यबाहेक नयाँ केही हुँदैन। यो त उदाहरण मात्रै भयो। हाम्रो मिडियामा आएको समाचारमा नयाँपन भेटिँदैन।

शरणार्थी प्रकरणमा पनि राजनीतिक दलको भेटघाट र बैठक प्राथमिकता पर्छन्। ती समाचार पहिलो पृष्ठ र अनलाइनमा पहिलो ब्यानरमा आउँथ्यो, यस्तो किन भइरहेको छ मैले बुझेको छैन। सधैं एकोहोरो समाचार दिनाले म मिडिया पढ्नेलाई त इरिटेड हुन्छ भने अरूलाई झन् के होला ? 

'वाह' भन्ने मिडिया नै छैनन् 

बीबीएमा भर्ना भएको मेरो क्षेत्र व्यवस्थापनभन्दा पनि पत्रकारिता हो भन्ने सोचेर डेढ वर्षपछि आएँ। स्नातक तह तेस्रो वर्षमा पत्रकारिता पढ्दै छु। मेरो विद्यालय तहको पढाइ यहीँ काठमाडौँमै भयो। मेरो घरमा पुस्तक पसल थियो। बिहान बिहान पत्रिका आउँथ्यो। कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, साप्ताहिकहरू र केही म्यागेजिनहरू। पत्रिका बिग्रेको मिलाउँथ्यौँ के लेख्या रैछ यसै हेरिन्थ्यो। अहिले केही अनलाइन र केही पत्रिकाको नियमित पाठक हो म। 

सुरुसुरुमा पत्रकारिता पढ्दा मिडिया कस्तो हुन्छ, समाचार खोज्ने, खोजी भएका कुरालाई भेरिफाई गर्ने, लेख्ने, त्यसको प्रक्रियागत मिलाउने, सम्पादन कसरी हुन्छ त्यो सिक्नुपर्छ भन्ने मलाई लाग्थ्यो। अब भने मलाई त्यो लाग्न छोडेको छ। किनभने हामीलाई पढाउने प्राध्यापकहरूले मिडियामा स्वतन्त्र रुपमा काम गर्ने खासै वातावरण छैन भन्नुहुन्छ। मिडियामै प्रेस स्वतन्त्रता छैन भने किन ठूला मिडियामा जाने भन्ने मलाई लाग्छ। 

मलाई समाचार पढ्दा केही कुरा अभाव भएजस्तो हुन्छ। दिनहुँ आउने नेताहरूको गन्थनले प्राथमिकता पाएको देख्दा के पत्रकारितामा भनेको नेताको गतिविधि र भाषण मात्रै छाप्ने काम हो भन्ने लाग्छ। आउन त अरू समाचार पनि आएका हुन्छन् तिनीहरूले पाउने प्राथमिकता राजनीतिक समाचारले पाएजस्तो लाग्दैन। 

अर्को हाम्रो मिडियाले नयाँ पार्टी र नयाँ जनप्रतिनिधिलाई नरुचाएको हुन् कि जस्तो देखिन्छ। नयाँ पार्टीलाई त शंकाको सुविधा दिनुपर्ने हो नि हैन ? तर दिएको देखिएन। चुनावताका नयाँ पार्टीबारे खासै सोधखोज नै गरेनन्। 

युट्युबहरूमा कुरीति कुसंस्कार फैलाउने जोगी बाबाहरू झारफुक गरेर रोग निको भएको भन्ने व्यक्तिहरूको अन्तर्वार्ता आउँछ। एकसे एस जहाँ पनि छ नेट पुगेको ठाउँमा। अनि त विज्ञान त कता हो कता, आम मान्छे त्यतै धाउँछन्।

जब प्रहरीले सिमान्त गुरुलाई रोक लगायो, तब मिडियामा थाहा भयो। किन यस्तो कुरीति चिर्न सकेका छैनौँ हामीले? किन युट्युबलाई विश्वास गर्छन् टेलिभिजनभन्दा बढी ? सोसल मिडियालाई किन विश्वास गर्छन् अनलाइन पोर्टलभन्दा बढी ? मलाई मनमा लागिरहने प्रश्न यही हो। 

हामीलाई पत्रकारिता पढाउने धेरैजसो प्राध्यापकहरू कुनै न कुनै मिडियामा काम गर्नुहुन्थ्यो। ठूला मिडियामा काम गर्न किन छोड्नु भयो ? यो कुरा सोध्दा पत्रकारको वृत्ति विकासदेखि रिपोर्टिङ नछापिदिनेसम्म हुँदो रहेछ।

रिपोर्टरले दुःख गरेर ल्याएको समाचार स्वार्थ मिल्यो भने बार्गेनिंङ गरेर छापिँदैनन् रे। यस्तो हुँदा त कसरी ठूला मिडियामा काम गरौँ भन्ने लाग्ला र। त्यसमाथि हामीसँगै काम गरेका कतिपय साथी तीन महिनासम्म पनि तलब आएन भन्छन्। अन्य क्षेत्रमा तीन महिनासम्म पनि तलब नदिए त्यही पत्रकारले लेख्छ तर उसको कसले लेख्दिने ? मलाई ठूला मिडियामा काम गरौँ भन्ने कहिले पनि लागेन। 

ठूला मिडियामा जाने धेरैको सपना हुन सक्छ, तर मेरो छैन। किनभने राम्रा भनेका पत्रकारले किन ठूला मिडिया छोडेका छन् ? सानै किन नहोस् आफ्नै खोलेका छन्।

खोजी पत्रकारिता गर्ने सानै होस्, आफ्नै मिडिया खोल्ने, मिडिया अनुसन्धान केन्द्रमा काम पाइयो भने अघि मैले उठाएका प्रश्नहरूको उत्तर खोज्ने प्रत्यन गर्छु भन्ने मलाई लाग्छ। 

(नयाँ पुस्ताले मिडियालाई कसरी हेरेका छन्, नेपालमा स्थापित मिडियामा आफ्नो करियर बनाउने योजना छ कि छैन भन्ने सन्दर्भमा आधारित रहेर रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छात्र अभिनव पौडेलसँग प्रुज पन्तले गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला

९ जेठ, २०८०, १६:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।