काठमाडौंमा दर्तामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका

काठमाडौंमा दर्तामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका

काठमाडौं : चालु आर्थिक वर्षमा काठमाडौंमा सबैभन्दा बढी मुद्दा आर्थिक अपराध र बैंकिङ कसुरमा दर्ता भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस चालु आर्थिक वर्षमा काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन्।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए।

परिसरमा गत आवमा बैंकिङ  कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए।

उनका अनुसार पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिने, चिठ्ठा पारिदिने, राम्रो रोजगारीमा विदेश पठाइदिने भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागूऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

जेठ ९, २०८० मंगलबार ११:५१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।