कामीरिताले बनाए सर्वाधिक २८औं पटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान

कामीरिताले बनाए सर्वाधिक २८औं पटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान

काठमाडौं : सोलुखुम्बुका कामीरिता शेर्पाले सर्वाधिक २८ औं पटक सगरमाथाको चुचुरोमा पुग्दै विश्व कीर्तिमान बनाएका छन्।

उनले आज (मंगलबार) बिहान २८ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।

कामीरिता आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, उनले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्दै सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने कीर्तिमान बनाए।

गत हप्ता मात्र सगरमाथाको चुचुरोमा पुगेका उनी यसै सिजन सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रोपटक हो।

गत बुधबार उनी २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। तर, सोलुखुम्बुको पासाङ दावा शेर्पाले पनि २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर उनको कीर्तिमान बराबर गरेपछि उनी हप्ता दिन पनि नबित्दै पुनः चुचुरोमा पुगेका हुन्।

खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ।

जेठ ९, २०८० मंगलबार ११:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।