स्विट्जरल्याण्ड पठाइदिन्छु भन्दै ७ लाख ठगी, एक महिला पक्राउ

स्विट्जरल्याण्ड पठाइदिन्छु भन्दै ७ लाख ठगी, एक महिला पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि स्विट्जरल्याण्ड पठाइदिन्छु भन्दै ७ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–४ घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापा रहेकी छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

थापा समेतले पीडितलाई वैदेशिक रोजगारका लागि स्विट्जरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाईदिन्छु मासिक १ लाख रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेका थिए।

साथै थापाले पीडितबाट पटक–पटक गरी ७ लाख २० हजार रूपैयाँ रकम ठगी गरेको भन्दै  पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको हो।

थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

८ जेठ, २०८०, १९:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।