माओवादीलाई एमाले सचिवको प्रश्नै प्रश्नः गाडीमा आगो लगाएर बालिकाको हत्या मान्छेले गरेको हो ?

माओवादीलाई एमाले सचिवको प्रश्नै प्रश्नः गाडीमा आगो लगाएर बालिकाको हत्या मान्छेले गरेको हो ?

काठमाडौँः नेकपा एमालेका सचिव योगेश भट्टराईले सशस्त्र युद्धका बेला भएका केही घटना र हत्याहरूको प्रसंग निकाल्दै माओवादीलाई पुनः प्रश्न गरेका छन्।  

नीति तथा कार्यक्रममाथि संसदमा सोमबार भएको छलफलमा भाग लिँदै भट्टराईले २०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेज (सरकारको नीति तथा कार्यक्रम) को पहिलो बुँदामै जनयुद्ध शब्द परेको भन्दै आपत्ति जनाएका थिए। 

उक्त क्रममा भट्टराईले कांग्रेसलाई जनयुद्ध स्विकारेको हो भनी प्रश्नसमेत गरेका थिए। उनले यसको जवाफ कांग्रेस पार्टीसभापतिबाटै आउनुपर्ने माग गरेका थिए। 

तर भट्टराईको जवाफ माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदमै दिए। पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गरेका थिए।

उनले भनेका थिए, ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रूख, ढुंगाहरू लडेका थिए ?’ पौडेलले भट्टराईलाई भने, ‘माननीय डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरू लडेका युद्ध थियो।’ 

पौडेलले यस्तो जवाफ फर्काएपछि भट्टराईले फेसबुकमा लामो स्टाटस लेख्दै माओवादी 'जनयुद्ध'लाई सशस्त्र युद्ध बनाउने प्रयास गरे।  

यस क्रममा उनले माओवादीलाई केही प्रश्न गरेका छन्। उनले माओवादीलाई सोधेका छन्- 'गुडिरहेको बसमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापूर्वक हत्या मान्छेले गरेको हो ?' 

त्यस्तै उनले अर्को प्रश्न पनि गरेका छन्, 'स्कुलमा पढाइरहेका शिक्षक लमजुङका मुक्तिनाथ अधिकारी, ओखलढुंगाका गुरुप्रसाद लुइँटेल, स्याङ्जाका गुप्तबहादुर विक र म्याग्दीका मणिलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर शरीरका दर्जनौँ ठाउँमा किला ठोकी ठोकी हत्या गर्ने काम मान्छेले नै गरेको हो त ?'

यसैगरी भट्टराईले पत्रकार डेकेन्द्र थापा, वीरेन्द्र साह, यदु गौतम लगायतको हत्या मान्छेले गर्न सक्छ भन्दै माओवादीलाई प्रश्न गरेका छन्। 

जेठ ८, २०८० सोमबार १५:५९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।