आफूखुसी इन्टरनेटको शुल्क बढाउने काम रोक्नुस् : सांसद पौडेल

आफूखुसी इन्टरनेटको शुल्क बढाउने काम रोक्नुस् : सांसद पौडेल

काठमाडौं : नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आफूखुसी शुल्क बढाउन नपाउने बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हाल उपलब्ध इन्टरनेट सेवामा गुणस्तरीयता नभएको र कम्पनीले सेवा अवरुद्ध भएको बेलाको शुल्क नलाग्ने सर्तसमेत पालना नगरेको बताए।

उनले भने, ‘इन्टरनेट सेवा उपलब्ध गराउने सेवा प्रदायक कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा पनि रातारात आफू मिलेर मूल्य बढाउन लागिपरेका छन् भन्ने सुन्नमा आएको छ।’

उनले मिलोमतोमा इन्टरनेटको शुल्क बढाउने काम हुन लागेकोमा यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए।

‘आम सेवाग्राहीलाई मार पर्ने गरी, सेवाग्राहीको मल्टिपल छनोटको अधिकारलाई समेत बेवास्ता गरेर बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाइँदैन,’ उनले थपे।

जेठ ८, २०८० सोमबार १३:२७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।