एमबाप्पेको दुई गोलमा पीएसजी विजयी, लिग जित्न अब १ अंक पर्याप्त

एमबाप्पेको दुई गोलमा पीएसजी विजयी, लिग जित्न अब १ अंक पर्याप्त

एजेन्सी : पीएसजीलाई अब फ्रेन्च लिगको उपाधि जित्न दुई खेलबाट १ अंक नै पर्याप्त हुने भएको छ। 

गए राति भएको लिगको खेलमा अक्सेरेलाई २-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन पीएसजी लिग उपाधि नजिक पुगेको हो।

अक्सेरेको घरेलु मैदानमा पीएसजीको जितमा फ्रान्सेली स्टार एमबाप्पेले खेलको ८ मिनेट भित्र नै दुई गोल गरे। छैटौं मिनेटमा एमबाप्पेले पीएसजीको खाता खोल्दा दुई मिनेटपछि नै अर्को गोल थपेका थिए।

यसपछि ५१ औं मिनेटमा सिनायोकोले अक्सेरेको लागि एक गोल फर्काए पनि खेललाई बराबरीमा ल्याउन पर्याप्त भएन।

यो जितपछि ३६ खेलबाट ८४ अंकसहित​​​​​​​ पीएसजीले दोस्रो स्थानमा रहेको लेन्ससँग ६ अंकको अग्रता बनाएको छ।

अब लिगमा दुई खेल मात्र बाँकी रहँदा कम्तीमा एक बराबरी नै ​​​​​​​पीएसजीलाई कीर्तिमानी ११ औं लिग उपाधि दिलाउन काफी हुनेछ।

यो पटक च्याम्पियन बनेमा पीएसजीले सर्वाधिक फ्रेन्च लिग उपाधि जित्ने रेकर्ड बनाउने छ।

जेठ ८, २०८० सोमबार ०८:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।