लिग जितिसकेको सिटीले चेल्सीलाई हराउँदै उचाल्यो उपाधि
एजेन्सी : तीन खेल अगावै इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको छ।
घरेलु मैदान इतिहाद स्टेडियममा चेल्सीलाई हराउँदै सिटीले प्रिमियर लिगको उपाधि पनि उचालेको छ।
सिटीको जितमा एक मात्र गोल खेलको पहिलो हाफमा जुलियन अल्भारेजले गरेका थिए। गए राति अल्भारेजले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यो खेलपछि लगातार तेस्रो पटक लिग उपाधि जितेको सिटीलाई घरेलु मैदानमा ट्रफी प्रदान गरिएको थियो। सिटीको पछिल्लो ६ वर्षमा यो पाँचौं लिग उपाधि हो।
यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंक पुगेको छ भने यो सिजन खराब फर्ममा रहेको चेल्सी ३६ खेलबाट ४३ अंक सहित १२ औं स्थानमा छ।
पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटी यो सिजन ट्रेबल (तीन प्रमुख) उपाधि जित्ने तयारीमा छ।
सिटीले अब एफए कपका फाइनलमा म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग भिडन्त गर्दैछ।
जेठ ८, २०८० सोमबार ०८:३६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।