बेंगलोरको आईपीएल जित्ने धोको यसपालि पनि अधुरै, गिलले छायाँमा पारे कोहलीको शतक
एजेन्सी : लिगको अन्तिम खेलमा लिडर गुजरातसँग पराजित भएपछि बेंगलोर आईपीएलबाट बाहिरिदा मुम्बई इन्डियन्सको प्लेअफमा स्थान सुरक्षित भएको छ।
विराट कोहलीले कीर्तिमानी शतक बनाए पनि बेंगलोर घरेलु मैदानमै गुजरातसँग ६ विकेटले पराजित भयो।
कोहलीको शतकलाई छायाँमा पार्दै शुभमन गिलले पनि लगातार दोस्रो खेलमा शतक हान्दा बेंगलोरको यो सिजन पनि लिग उपाधि जित्ने सपना पूरा हुन सकेन।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएको थियो।
बेंगलोरका लागि विराट कोहलीले ६१ बलमा १३ चौका र १ छक्कासहित शतकीय पारी खेले। लगातार दोस्रो खेलमा १०० रन पार गर्दै कोहलीले आईपीएलमा सर्वाधिक शतकको क्रिस गेलको रेकर्ड तोडेका थिए।
उनको आईपीएलमा यो सातौं शतक हो।
जवाफ १९८ रनको विजयी लक्ष्य गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। गुजरातको जितमा शुभमन गिलले ५२ बलमा ५ चौका र ८ छक्कासहित अविजित १०४ रनको योगदान दिए। विजय शंकरले ५३ रन जोडेका थिए।
यो हारपछि १४ खेलबाट १४ अंक मात्र भएको बेंगलोर लिग चरणबाटै बाहिरियो। मुम्बई इन्डियन्स १४ खेलमा १६ अंकका साथ चौथो स्थानमा रहेर प्ले अफमा पुग्यो
गुजरात १४ खेलमा १० जितपछि २० अंकका साथ शीर्षस्थानमा रहँदा १७ अंक रहेको चेन्नई दोस्रो स्थानमा छ। अब मंगलबार पहिलो क्वालिफायर खेलमा चेन्नई र गुजरातबीच भिडन्त हुनेछ।
जेठ ८, २०८० सोमबार ०७:४१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।