प्रधानाध्यापक कमलाको प्रसव पीडाः समय नभई आमा बनेँ, सन्तान जन्माउँदाभन्दा ठूलो पीडा पछि भयो
जनकल्याण माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिकाभित्रका अब्बल सामुदायिक विद्यालयमध्ये पर्छ। विद्यार्थी संख्याका आधारमा यो विद्यालय महानगरका ८९ सामुदयिक विद्यालयमध्ये चौथो स्थानमा छ।
विद्यालय अब्बल हुनुमा अहिलेकी प्रधानाध्यापक कुमारीकमला राई र उनको टिमको ठूलो भूमिका छ।
शिक्षक पेशाको २९ वर्ष यही विद्यालयमा बिताएकी उनी ११ वर्षयता भने प्रधानाध्यापकको भूमिकामा छिन्।
प्राध्यापक डा. विष्णुकुमार राईकी श्रीमती भए पनि उनको करियरमा श्रीमानको छवि भने कहिल्यै हाबी भएन। त्यसैले १२ घण्टासम्म त उनी कुनै हालतमा पनि विद्यालय छाड्दिनन्।
बुबाको निधनपछि जेठी छोरीको नाताले घरको जिम्मेवारीसँगै आमाको सहयोगी भएर बस्नुपरेकी उनले पछि पढ्न पाउनुपर्ने सर्तमा मात्र विवाह गरेको बताउँछिन्।
आफू तयार नहुँदा नहुँदै पनि आमा बनेकाले त्यो बेला बच्चा र आमा दुवैलाई धेरै स्याहार गर्न नसकेको र बच्चा भएपछि मात्र शिक्षण पेशाको सुरुवात भएको भन्दै प्रधानाध्यापक कमलाकुमारीले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग यसरी व्यक्त गरिन्।
मेरो माइती र घर दुवै खोटाङ हो। एसएलसी पास गरेपछि पीसीएल (अहिलेको प्लस टु) पढ्न म धरान झरेकी थिएँ। तर, एक वर्ष पनि कम्प्लिट नभई बाबा बित्नुभयो। अनि फेरि खोटाङ नै गएँ। घरकी जेठी छोरी भएको कारण भाइबहिनी हेर्न आमासँगै बस्न पर्यो।
त्यसरी नै बसिराख्दा स्नातकोत्तर गर्दै गरेको केटाले मलाई हेर्न आउनुभयो। उहाँले मनपराउनुभएछ। अनि आफैले कुरा राख्नुभयो। हाम्रो सात वर्षको उमेर अन्तर छ।
पारिवारिक पृष्ठभूमि लाहुरेको भए पनि मेरो बाबाले खै किन हो, लाहुरेलाई चै छोरी नदिने। छोरीलाई पनि धेरै पढाउने, अनि बिहे पनि पढेको सँगै गराउने भन्नुहुन्थ्यो। त्यो कुराले आमालाई पनि छोएको रहेछ। अनि उहाँले माग्न आउँदा पढेलेखेको, भलाद्मी केटो भनेर पहिल्यैदेखि आमाले पनि सुन्नुभएको रहेछ। त्यसपछि आमाले त सिधै मलाई नसोधी हुन्छ भनिदिनुभयो।
किराती भए पनि हाम्रोमा हिन्दु संस्कृतिको छाप रहेछ भनेर अहिले थाहा हुँदैछ। बाबा बितेको एक वर्षपछि भव्य दान दक्षिणा गरेर काम सक्यौं। अनि मेरो बिहे पनि धुमधामले भयो।
बिहे भएको अर्को वर्ष काठमाडौँ आएर मैले पीसीएल, स्नातक र स्नातकोत्तर पनि गरेँ। म काठमाडौँ आएको पनि पहिलो पटक त्यति बेला नै हो। बिहे भएको तीन वर्षपछि छोरो जन्मियो। केटाकेटी उमेर नै भएको भएर होला, बच्चाको आवश्यकता अनुभव पनि वास्तवमा भएको थिएन। गर्भवती भएपछि पनि मैले त्यस्तो धेरै ख्याल पनि राख्न जानिनँ। साथीहरूले चै डाक्टरलाई देखाउनुपर्छ। सुईहरू लगाइराख्नुपर्छ भने। मैले त्यस्तो दुःख अनुभव पनि गरिनँ।
अहिलेको साथीहरू प्रायः सबैले ३२ प्लस भएपछि पाउँछन्। हाम्रै विद्यालयमा पनि मिसहरू बेड रेस्टमा नै बस्नुहुन्छ। मलाई त बेडरेस्ट भन्ने पनि भएन।
गर्भवती भएको केही महिना खाना खान मन नलाग्ने त भयो। त्यसपछिको समय त सजिलै बिताए। बच्चा पनि स्वस्थ नै जन्मियो। अहिले पनि मलाई सम्झना छ, दुई केजी सात सय ग्रामको थियो बच्चा। आफू परिपक्व नभएको अवस्थामा बच्चा पाए पनि दुवै स्वस्थ थियौँ। बच्चा भएपछि ठमठम गरेर हिँड्थेँ।
गर्भवतीको समयमा धेरैजसो परिवर्तन त मैले आफ्नै शरीरमा पाएँ। ब्रेस्टहरू पनि बढ्दैबढ्दै जाने। आफैले आफ्नो पेट देख्दा पनि ठूलो लाग्ने। त्यो समयमा त शरीर नै अलग जोनमा पुगेको हुने रहेछ। अहिलेजस्तो त्यो बेलामा खुलेर बोल्ने हुँदैन्थियो।
बागबजारमा डेरा थियो हाम्रो। छिमेकमा बस्ने भाइहरूले बधाई छ है भन्दा मलाई धन्यवाद भन्न पनि लाज लाग्यो। अहिले पनि बच्चा पेटमा भएको मलाई फिल हुन्छ।
जतिखेर पनि दाइनेतिर धक्ल्याक धक्ल्याक चल्ने। दाइने चल्यो भने छोरो नै हुन्छ भनेर साथीहरूले भन्थे। तर, मलाई जे भए पनि मतलब थिएन। श्रीमान् र म त खुलेर कुरा गर्न पनि लजाउँथ्यौँ। त्यस्तो बेलामा पनि म र श्रीमान् क्लोज फ्रेन्ड भएर कुरा गर्ने भइसकेका थिएनौँ।
बच्चा पाएपछि चाहिँ श्रीमानले पनि झन् धेरै ख्याल राख्नुभएको हो कि जस्तो लाग्यो। छोरा पाउने बेलामा एक दिन हस्पिटलमै बस्यौं। त्यसपछि कोठामा जाँदा दुवै जनाले ख्याल गर्न नजानेको कुरा सम्झिँदा त अहिले पनि हामी दुवै जना हास्ने गर्छौं।
अहिले पढ्दा बुझ्दा त्यो बेला आफूलाई र बच्चालाई पनि ख्याल गर्न जानिनँ रहेछु भन्ने लाग्छ। त्यही भएर बच्चालाई त निमोनिया पनि भएछ। आत्तिएर हस्पिटल जाँदा डाक्टरले आज पनि नल्याएको भए तपाईंहरूको बच्चालाई जे पनि हुन सक्थ्यो भने। राम्रोसँग केयर गर्नु भनेको अहिलेजस्तै लाग्छ।
जे होस् ब्रेस्टफिडिङ राम्रोसँग गराएको कारण छोरा स्वस्थ भयो। अहिलेसम्म पनि तगडा नै छ। खानपानमा पनि ध्यान दिन थाल्यौं। यस्तो बेलामा अरूको स-साना सुझाव पनि एकदम महत्वपूर्ण हुने रहेछ भन्ने भयो।
बच्चा जन्मेपछि ब्रेस्टफिडिङ गर्न त मलाई झन् गाह्रो भयो। बच्चालाई देख्नासाथ माया त हुँदो रहेछ। तर, जति प्रसव वेदनामा छटपटाएर बच्चा जन्माइन्छ। त्योभन्दा बढी ब्रेस्ट फिडिङको टाइममा सकस हुने रहेछ। केही महिनापछि भने बानी भएर होला, त्यो दुखाइ हट्दै गयो।
पछि बच्चा हुर्कँदै गर्दा उसले देखाउने हरेक स-सानो प्रतिक्रिया देख्दा अर्कै फिल हुने रहेछ। त्यो त सेयर गर्न मसँग शब्द पनि छैन। यो सयमा त आफ्नो बच्चा हाँसे पनि, बोल्न खोजे पनि, हिँड्न खोजे पनि केही कुरा पाएजस्तै हुने रहेछ। बच्चा भएपछि श्रीमानसँग पनि झन् धेरै बुझाइको स्तर बढ्दै गयो। पूर्ण परिवार भन्छन् नि त्यस्तै महसुस भयो।
बच्चा भएपछि नै पढाइ पूरा भएका कारण मैले पछि करियरमा नै फोकस गरेँ। अरू बच्चाको आवश्यक महशुस गरेनौँ। हाम्रो छोरा ३,४ वर्षको हुँदा अर्को सन्तान जन्माउँदा राम्रै होला भन्ने त लाग्या थ्यो।
त्यो बेला जन्माउन सकेनौँ भनौँ। त्यसपछि हामीले फेरि प्लान गरेनौँ। अहिले सुखी परिवार छौं।
अहिले ऊ आफ्नो खुट्टामा उभिन सक्ने भइसक्यो। ठूलो हुँदै जाँदा माया त उत्ति नै लाग्ने रहेछ। माया गर्ने तरिकामा भने केही फरकपन पक्कै आयो। त्यै भएर मलाईचाहिँ अहिलेभन्दा पनि सानोमा छोराको बढी माया लाग्ने गरेको हो कि भन्ने लाग्छ। तर, आमा र छोराको आत्मीयता चै बाबासँग भन्दा बढी हुने रहेछ। त्यो मैले पनि फिल गरेँ।
आफू पूर्ण रूपमा तयार छु, भनेर बच्चा पाउनु र थाहा नभएरै बच्चा पाउनुमा त धेरै फरक हुने रहेछ। त्यो बेला त्यै ठिक लाग्यो। तर, अहिले त्यो धेरै कुराको कमी भएको महशुस हुन्छ। त्यो बेला प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान पनि थिएन। मेरी छोरी त छैन, भोलि बुहारीलाई धेरै कुरा सिकाउँछु।
बच्चापछि मेरो करियर सुरु भए पनि मलाई त्यस्तो गाह्रो भने भएन। मेरा श्रीमान् एकदम धेरै सहयोगी हुनुहुन्छ। मेरो करियर अघि बढ्नुमा श्रीमानको पनि धेरै योगदान छ।
त्यस समयमा बच्चाको स्याहार गर्न धेरै सहयोगी बहिनीहरूलाई राखेँ। पाँच वर्षपछि त छोरालाई स्कुल नै पठाइयो। एकपछि अर्को सफलता गर्दै गर्दै यहाँसम्म आइपुगेँ। अहिले बाबु सफ्टवयर इन्जिनियर छ न्युयोर्कमा।
जेठ ७, २०८० आइतबार २२:०६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।