कान्तिपुरको प्रधान सम्पादकमा चौहान, सुधीर बिदा भए

कान्तिपुरको प्रधान सम्पादकमा चौहान, सुधीर बिदा भए

काठमाडौं : कान्तिपुर दैनिकको समाचार कक्षको नेतृत्व बदलिएको छ। प्रधान सम्पादक रहेका सुधीर शर्मा आइतबारबाट बिदा भएका छन् भने सम्पादक रहेका उमेश चौहान प्रधान सम्पादकमा बढुवा भएका हुन्।

बिदाइमा आयोजित कार्यक्रममा २० वर्षदेखि मिडियामा काम गरेकाले केही समय आराम गर्न चाहेको र अब किताबको काम गर्ने शर्माले बताएका थिए। 

कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाले बिदाइ कार्यक्रममा 'हामी एकै घरका हौँ, सधैं स्वागत छ' भनेका थिए।

शर्माले दोस्रो पटक कान्तिपुर छाडेका हुन्। यस अगाडि उनले छाड्दा नारायण वाग्ले प्रधान सम्पादक भएका थिए। एक वर्षमै शर्मा कान्तिपुर फर्किएका थिए।

शर्मा फर्किएको केही समयमै नयाँ पत्रिकाका सम्पादक चौहान सम्पादकको रुपमा कान्तिपुर दैनिकमा आएका थिए।

शर्माले यस अगाडि 'प्रयोगशाला' नामको पुस्तक प्रकाशित गरेका छन्। उनको यो पुस्तक अंग्रेजी भाषामा समेत प्रकाशित भएको छ। 

जेठ ७, २०८० आइतबार १६:५९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।