नेपालमा अलैँची विज्ञको आवश्यकता छः मन्त्री सिटौला

नेपालमा अलैँची विज्ञको आवश्यकता छः मन्त्री सिटौला

विराटनगरः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले अलैँची विज्ञको आवश्यकता रहेको बताएका छन्।

झापाको बिर्तामोडमा आज अलैँची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा अलैँची विज्ञ नरहेकाले अलैँची विज्ञ उत्पादन गर्न जरुरी रहेको उल्लेख गरे।

'आफू पनि अलैँची किसान भएकाले अलैँची किसानका समस्याबारेमा जानकार छु। अलैँची उत्पादनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अलैँची उत्पादनसम्बन्धी शिक्षाको आवश्कता छ', मन्त्री सिटौलाले भने। 

अलैँची खेती प्रवर्द्धनका लागि किसान र व्यवसायीले वेयर हाउस, सहुलियत ऋणलगायत विविध क्षेत्रमा कुरा उठाएकाले प्रदेश सरकारले उत्पादनमुखी अनुदान दिने उनको भनाइ थियो। अलैँची व्यवसायीले कर छल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै मन्त्री सिटौलाले व्यवसायीलाई कर छली नगर्न आग्रह गरे।​​​​​​​

कार्यक्रमा महासंघका अध्यक्ष निर्मल भट्टराईले मुलुकमा उत्पादन भएको ९८ प्रतिशत अलैँची निर्यात हुने गरेको जानकारी दिए।

उनले भारतलगायतका मुलुकबाट सुकमेल आयात भइरहँदा सोही मात्रामा उत्पादन भएको अलैँची नेपाली बजारमा खपत नभएकाले खपत बढाउने र तेस्रो मुलुक निर्यात गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए।

जेठ ७, २०८० आइतबार १६:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।