बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए सपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए सपथ

काठमाडौँः बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले ६ नयाँ मन्त्री नियुक्त गरेका हुन्। 

मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा एसको तर्फबाट डा राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल छन्। 

उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

साथै डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात र रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री नियुक्त भएका हुन्। 

यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।

तत्कालीन समयमा सरकारमा राप्रपा र एमालेका मन्त्रीहरू पनि सहभागी थिए। तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो। 

 मुख्यमन्त्री जमकट्टेलले गत चैत १० मा विश्वासको मत प्राप्त गरेका थिए।

विश्वासको मत प्राप्त गरेलगत्तै गत चैत २६ मा नेपाली कांग्रेसको तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए। 

७ जेठ, २०८०, १६:१३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।