जिल्ला प्रशासन र अध्यागमनले रविले अमेरिकी राहदानी त्यागेको निस्सा पठाएन

जिल्ला प्रशासन र अध्यागमनले रविले अमेरिकी राहदानी त्यागेको निस्सा पठाएन

काठमाडौंः रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा आफ्नो कार्यालय सम्बन्धित नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जवाफ पठाएको छ। 

सर्वोच्च अदालतले जिल्ला प्रशासनसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा भए उपलब्ध गराउन पत्र पठाएको थियो।

अदालतको पत्रको जवाफमा कार्यालयले 'राहदानी त्यागसम्बन्धी निस्सा यस कार्यालय सम्बन्धित नरहेको' उल्लेख छ।

अदालतले अध्यागमनसँग पनि सोही प्रकृतिको निस्सा माग गरेकोमा यस अगाडि लामिछानेको मुद्दाको सवालमा सक्कल फाइल पठाएको र सो अदालतमै रहेको उल्लेख छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता निष्क्रिय रहेको प्रमाणित गरेपछि उनले नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सक्रिय गराएका थिए।  लगत्तै उनले राहदानी विभागमा गएर आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्दै लिएको नेपाली राहदानी फिर्ता गरेका थिए। 

उनी विरुद्ध राहदानी दुरुपयोगमा परेको जाहेरीमा प्रहरीहुँदै न्यायाधीवक्ताको कार्यालयले दुरुपयोगको नियत नदेखिएको भन्दै मुद्दा दर्ता गर्नु नपर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। युवराज सफलले दर्ता गरेको रिटको आधारमा अगाडि बढेको मुद्दा प्रक्रियाकोक्रममा अदालतले जिल्ला प्रशासन र राहदानी विभागसँग अमेरिकी राहदानी त्यागेको निस्सा (प्रमाण) मागेको थियो।

उनको नागरिकता निष्क्रिय रहेको अदालतबाट ठहर भएसँगै चितवन-२ मा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा उनी नै निर्वाचित भएर आए। यता उनले निष्क्रिय रहेको नेपाली नागरिकता सक्रिय गराउँदा जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनले बुझाएको प्रमाण नेपालस्थित अमेरिकी दूतावासबाट प्रमाणितै नगरी एकै दिनमा नागरिकता प्रमाण पत्र दिएको थियो।

सफलले उनले नागरिकता लिँदा अमेरिकी नागरिकता त्यागेको निस्सा माग गर्दै राहदानी दुरुपयोगमा उनी विरुद्ध मुद्दा नचल्ने न्यायाधीवक्ताको कार्यालयको निर्णय उल्टाउन माग गर्दै रिट दायर गरेका थिए। रिटमा कारण देखाउन आदेश जारी भइसकेको छ। मुद्दा सर्वोच्चमा विचाराधीन छ।

जेठ ७, २०८० आइतबार १५:५९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।