मुम्बईको प्ले अफ यात्रामा हैदराबाद बाधा बन्न सक्ने, यस्तो छ समीकरण

मुम्बईको प्ले अफ यात्रामा हैदराबाद बाधा बन्न सक्ने, यस्तो छ समीकरण

काठमाडौं : आईपीएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछ। गुजरात, चेन्नई र लखनउले अन्तिम चारमा स्थान सुरक्षित गरिसक्दा आजका दुई खेलबाट प्ले अफमा पुग्ने अन्तिम एक टिमको टुंगो लाग्नेछ।

आजको खेलबाट मुम्बई, बेंगलोर र राजस्थान मध्ये एक टिम प्ले अफका लागि छनोट हुनेछ।

आज नेपाली समय अनुसार ३:४५ बजे हुने पहिलो खेलमा मुम्बईले लिगबाट बाहिरिसकेको हैदराबादको सामना गर्दैछ।

प्ले अफ सम्भावनालाई आजको दोस्रो खेलसम्मका लागि जीवितै राख्न मुम्बईले हैदराबादलाई हराउनै पर्ने हुन्छ। यदि यो खेलमा हैदराबाद जितेमा मुम्बईको यात्रा पनि समाप्त हुनेछ।

हाल १३ खेलबाट १४ अंकसहित मुम्बई लिगको छैठौं स्थानमा छ। समान खेलबाट समान अंक भए पनि नेट रनरेटको आधारमा बेंगलोर र राजस्थान माथि छन्।

यदि मुम्बईले यो खेल जितेमा र अन्तिम खेलमा बेंगलोर गुजरातसँग हारेमा मुम्बई प्ले अफमा पुग्नेछ। 

मुम्बई र बेंगलोर दुवैले खेल जितेमा अंक बराबर हुनेछ भने यसपछि नेट रनरेटको आधारमा बलियो टिम माथि उक्लने छ। जसमा बेंगोलर माथि छ।

यो समीकरणमा माथि उक्लन मुम्बईलाई भारी अन्तरको जितको आवश्यक पर्छ। राजस्थानले भने प्ले अफमा पुग्न दुवै टिमको हारसँगै बेंगलोरको भारी अन्तरको हारको कामना गर्नुपर्ने हुन्छ।

जेठ ७, २०८० आइतबार ११:३८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।