ओछ्यानमै मृत भेटिए रोजगारीका लागि पोर्चुगल‍ पुगेका एक युवा

ओछ्यानमै मृत भेटिए रोजगारीका लागि पोर्चुगल‍ पुगेका एक युवा

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल गएका नेपालका एक युवाको मृत्यु भएको छ।

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए।

बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको उनले बताए।

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए।

परिवारको आग्रहमा उनको शव नेपाल ल्याउनका लागि आवश्यक तयारी भइरहेको बताइएको छ।

जेठ ७, २०८० आइतबार १०:४७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।