दिल्लीलाई ७७ रनले हराउँदै चेन्नई आईपीएलको प्लेअफ प्रवेश

दिल्लीलाई ७७ रनले हराउँदै चेन्नई आईपीएलको प्लेअफ प्रवेश

एजेन्सी : महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटललाई ७७ रनले हराउँदै चेन्नईले प्लेअफमा स्थान पक्का गरेको हो।

दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २२३ रन बनायो।

जवाफमा मैदान उत्रिएको दिल्लीले ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि मात्र ५ रन जोड्दा पृथ्वी शा व्यक्तिगत ५ रनमै आउट भए। अर्का ओपनर डेभिड वार्नरले राम्रो खेले पनि उनलाई कसैले पनि साथ दिन सकेनन्।

फिल साल्ट ३, रिले रोसौव शून्य, यश ढुल १३, अक्षर पटेल १५, अमन हकिम खान ७ रनमा आउट भए।

वार्नरले ५८ बलमा ७ चौका र ६ छक्कको मदतमा ८६ रन बनाए।

उता चेन्नईको भने सुरुवात निकै राम्रो रह्यो। ओपनरद्वय ऋतुराज गायकवाड र डेवोन कन्वेले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे।

१५औं ओभरको तेस्रो बलमा पहिलो विकेटका रुपमा ऋतुराज आउट भए। ५० बलको सामना गरेका उनले तीन चौका र ७ छक्काको मदतमा ७९ रन बनाए।

तेस्रो नम्बरमा व्याटिङ गर्न आएका शिव दुवेले २२ रन बनाएर पभेलियन फर्किए।

अन्तिम १० बल खेल्नुअघि तेस्रो विकेटका रुपमा आउट भएका डेवोन ८७ रन बनाए। रवीन्द्र जडेजा २० र एमएस धोनी ५ रनमा अविजित रहे।

चेन्नई प्लेअफमा प्रवेश गर्दा दिल्ली प्रतियोगिताबाट बाहिरिएको छ।

जेठ ६, २०८० शनिबार २०:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।