किन प्रतिबन्ध लगाइयो भारु २ हजारको नोट, के होला असर?

किन प्रतिबन्ध लगाइयो भारु २ हजारको नोट, के होला असर?

एजेन्सी : भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले शुक्रबार दुई हजार रूपैयाँका नोट फिर्ता लिने घोषणा गर्यो।

तर सरकारले किन दुई हजारको नोट फिर्ता लिने निर्णय गरेको हो भन्ने अझै स्पष्ट नभएको विज्ञहरूको भनाइ छ। तर आरबीआईले बजारमा रहेका नोट वैध रहने बताएको छ।

आरबीआईले ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खातामा यी नोटहरू जम्मा गर्न वा साट्न सक्ने बताइसकेको छ। तर, एक पटकमा अधिकतम २० हजार रुपैयाँका १० नोट मात्रै परिवर्तन हुने व्यवस्था मिलाइएको छ। नोटहरू दिनमा धेरै पटक परिवर्तन गर्न सकिने बताइएको छ।

८ नोभेम्बर २०१६ मा भारत सरकारले ५०० र १००० रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेको थियो। जसलाई नोटबन्दी भनिएको थियो। करिब साढे ६ वर्षअघि भएको नोटबन्दीपछि सरकारले दुई हजार दरका नयाँ नोट ल्याएको थियो।

आरबीआईले शुक्रबार आफ्नो विज्ञप्तिमा नोटबन्दीपछि उत्पन्न हुने आवश्यकता पूरा गर्न यस्तो गरिएको बताएको थियो।

आरबीआईले विज्ञप्तिमा भनेको छ, ‘बजारमा पर्याप्त मात्रामा अन्य नोट आएपछि यो उद्देश्य पूरा भएको हो र त्यसैले २०१८/१९ मा दुई हजार रुपैयाँको नोट छाप्न रोकिएको थियो।’

दुई हजार दरका नोट विस्तारै सर्वसाधारणको प्रयोगबाट हट्दै गएका छन्। आरबीआईले मार्च २०१७ अघि २ हजार रुपैयाँका ८९ प्रतिशत नोट जारी गरेको थियो।

सत्तारुढ भारतीय जनता पार्टीका नेताहरूले यसलाई भ्रष्टाचारमा सर्जिकल स्ट्राइक भनेका छन्।

बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीले सञ्चारकर्मीमाझ बाेल्दै भनेका छन्, ‘यो भ्रष्टाचार विरुद्धको लडाइमा उठाइएको कदम हो। यो भ्रष्टाचारमाथिको सर्जिकल स्ट्राइक हो। जनताको कालो धन बाहिर आउनु पर्छ।’

निजी समाचार च्यानल आजतकसँगको कुराकानीमा सुशील मोदीले भने, ‘आतंकवादी कोष र अन्य भ्रष्ट गतिविधिमा दुई हजार रुपैयाँ प्रयोग भइरहेको छ। यस्तो अवस्थामा यो नोटलाई पूर्ण रूपमा खारेज गर्ने मनसाय रहेको छ।’

ठूला नोट बजारका लागि उपयुक्त नहुने भाजपाका नेताहरूले बताइरहेका छन्। ५ सय र एक हजारका नोट फिर्ता लिँदा कालो धन रोक्नको लागि यस्तो गरिएको तर्क गरिएको थियो। दुई हजारको नोट फिर्ता लिएपछि पनि त्यही तर्क प्रयोग भइरहेको छ।

निर्णय पछाडिको कारण?
आरबीआईका अनुसार दुई हजार रुपैयाँको नोट क्रमशः चलनबाट बाहिर हुँदैछ। आरबीआईका अनुसार ३१ मार्च २०१८ सम्म बजारमा ६.७३ लाख करोड रुपैयाँ मूल्यको २ हजारका नोटहरू थिए, जुन कुल नोटको ३७.३ प्रतिशत थियो।

तर ३१ मार्च २०२३ सम्म आउँदा बजारमा ३.६२ लाख करोड रुपैयाँ मात्र दुई हजार रुपैयाँको नोट भएको बैंक बताउँछ। जुन कुल नोटको १०.८ प्रतिशत मात्र हो।

जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर अरुण कुमार भन्छन्, ‘कालो धन राख्न दुई हजार रुपैयाँको नोट प्रयोग भइरहेको छ। भारतमा अहिले ३.६२ लाख करोड रुपैयाँको दुई हजार रुपैयाँको नोट चलनमा छ।’

आरबीआई आफैँले बिस्तारै २ हजार रुपैयाँको नोट सर्कुलेशनबाट बाहिर निकाल्दैछ। मार्च २०१८ पछि नयाँ नोट पनि छापिएको छैन। पहिलेको तुलनामा यी नोट बजारबाट झण्डै आधा भइसकेका छन्। यस्तो अवस्थामा अहिलेको यो निर्णयको उद्देश्य के हो भन्ने प्रश्न उठ्छ।

नोटबन्दीजस्तो असर होला त ?
नोभेम्बर २०१६ मा, प्रधानमन्त्री नरेन्द्र मोदीले अचानक ‘कालो धन, भ्रष्टाचार र आतंकवादमाथि प्रहार गर्न’ ५०० र १,००० रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेपछि देशमा हंगामा मच्चियो।

धेरै महिनादेखि नोट साट्न बैंकबाहिर लाइन लाग्दा सर्वसाधारणले निकै समस्या भोग्नुपरेको थियो। यसले भारतीय अर्थतन्त्रमा पनि ठूलो असर पारेको विश्लेषकहरू बताउँछन्। तर २ हजार रूपैयाँको नोट चलनबाट बाहिर निकाल्दा त्यसको असर विमुद्रीकरण जस्तो हुनेछैन।

प्रोफेसर अरुण कुमार भन्छन्, ‘बजारबाट २ हजार रूपैयाँका नोट निकाल्दा त्यसरी प्रभाव पर्दैन जसरी नोटबन्दीका बेला परेको थियो।’

नगदको आवश्यकता पूरा गर्न दुई हजार रूपैयाँको नोटमा मुद्रा राख्ने साना उद्योग वा २ हजारका नोटमा बचत गर्ने किसानलाई भने यसले समस्या गर्ने उनी बताउँछन्।

नोटबन्दीका बेला बैंकमा निकै चाप बढेको थियो र बैंकका कर्मचारीले केही महिना अतिरिक्त काम गर्नुपरेको थियो। दुई हजारको नोट खारेज भएपछि बैंकको काममा पनि असर पर्नसक्छ।

अर्थतन्त्रमा कति प्रभाव पार्छ
प्राध्यापक कुमार भन्छन्, ‘सरकारले सय दिनभित्र यी सबै नोट फिर्ता लिने हो भने यो अवधिमा दश करोडको अतिरिक्त कारोबार हुन्छ, यसले बैंकमा बोझ बढ्छ र जनताले बैंकमा अतिरिक्त समय बिताउनुपर्नेछ।’

दुई हजार रुपैयाँको नोट फिर्ता लिने वा बन्द गर्ने भन्ने विषयमा विगतमा धेरै अड्कलबाजी गरिएको थियो। बन्दको माग पनि उठ्यो र मिडियामा पनि बजारभन्दा कम भएको खबर आइरहेको थियो।

यद्यपि विश्लेषकहरू यसले ठूलो जनसंख्यालाई असर नगरे पनि नगदको विश्वसनीयतामा प्रभाव पार्नसक्ने भने बताउँछन्।

प्रोफेसर अरुण कुमार भन्छन्, ‘यसबाहेक यी नोट बन्द हुँदा अर्थतन्त्रमा नगदको विश्वसनीयता पनि घट्छ। दुई हजारको नोट बन्द गर्न सकिन्छ भने पाँच सयको पनि हुन सक्छ भन्ने प्रश्न जनताको मनमा उठ्न सक्छ। बन्द गर्न सकिन्छ।’

‘भुक्तानीका लागि नगद प्रयोग गरिन्छ। नोट बन्द हुँदा भुक्तानी पनि असर गर्ने नै भयो।भारतीय अर्थतन्त्र पहिले नै समस्यामा छ, असंगठित मजदुर र क्षेत्रले समस्या भोगिरहेको छ। यस्तो अवस्थामा यो झनै खराब हुनसक्छ।’

यस्तै कुमारले नोटहरूमा विश्वासको कमीले पनि लेनदेन कम हुँदा त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नसक्ने बताउँछन्।

(बीबीसी हिन्दीबाट अनुवाद गरिएको)

जेठ ६, २०८० शनिबार १८:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।