डा. प्रशन्ना मृत्यु घटनाः किटानी जाहेरी परेपछि अस्पतालमै कार्यरत दुई जना पक्राउ
धनगढीः धनगढीमा डाक्टर मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
उपमहानगरपालिका-५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह बिहीबार आफ्नै कोठामा मृत भेटिएकी थिइन्।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. शाहको मृत्यु प्रकरणमा धनगढीकै विकल केसी र डा. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले मृतकका परिवारले किटानी जाहेरी दिएकाले त्यसकै आधारमा उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।
चन्दका अनुसार केसी शनिबार बिहान र भट्टराई दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरीका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मायामेट्रो अस्पतालमा डा. शाहसँगै भट्टराई र केसी कार्यरत थिए।
प्रहरीले दिएको जानकारीअनुसार डा. शाह र भट्टराई प्रेम सम्बन्धमा थिए। मृतकका आफन्तले आत्महत्या दुरुत्साहनसम्बन्धमा दुवै जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे प्रहरीले अनुसन्धान र सोधपुछ गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताएका छन्।
डा. शाह घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
जेठ ६, २०८० शनिबार १८:३२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।