क्यान्सरले थलिएकी वृद्धाले डा.अरुणलाई भनिन्- ‘छोरो मर्न नदिनुस् है डाक्टरसाप, मेरो किरिया गर्ने समेत कोही हुँदैनन्’
डा. अरुण शाही पाटन (अस्पताल) स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ हुन्। उनी क्यान्सर रोग विशेषज्ञ भन्दा पनि आफूलाई मेडिकल अंकोलोजिष्ट नै भन्न रुचाउँछन्।
विशेषगरी क्यान्सर रोगको पहिचानदेखि यो रोग लागेका बिरामीको औषधि उपचार गर्नु उनको दैनिकी हो। त्यसबाहेक उनी क्यान्सर रोग लाग्न नदिने जनचेतना जगाउन पनि उत्तिकै सक्रिय छन्।
उनै मेडिकल अंकोलोजिष्ट डा. अरुणले क्यान्सर रोगका विषयमा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।
आमाभन्दा अघि छोराले प्राण त्यागेपछि...
घटना एक वर्ष अघिको हो। करिब ७५ वर्षकी वृद्धा पाटन अस्पतालमा पुगेकी थिइन्।
स्वास्थ्य परीक्षणको क्रममा उनमा फोक्सोको क्यान्सर भएको पत्ता लाग्यो। क्यान्सर जटिल किसिमको थियो। वृद्धालाई क्यान्सर छ भनेर थाहा दिइएको थिएन। पाटन अस्पतालमा ती वृद्धाको उपचार भइरहेकै थियो।
तर, उपचार थालेको करिब पाँच महिनापछि उनका करिब ५२ वर्षे छोरालाई पनि स्वास्थ्य समस्या भएछ। स्वास्थ्य परीक्षणका क्रममा छोरालाई पनि फोक्सोकै क्यान्सर भएको पत्ता लाग्यो। आमा छोरा दुवैलाई फोक्सोको क्यान्सर भएको थाहा भएपछि दुवैको सँग–सँगैजसो उपचार भयो।
‘डाक्टर साप छोरालाई मर्न दिनु भएन है। मेरो एउटा मात्रै छोरा हो। मेरो किरिया गर्ने समेत कोही हुँदैनन्।’
ती वृद्धा जहिल्यै अस्पताल पुग्दा डा. अरुणसँग छोराको स्वास्थ्य अवस्थाका बारेमा सोधिरहन्थिन्। आमाको मन न हो। छोराको स्वास्थ्य अवस्थाबारे चिन्ता लिइरहन्थिइन्। ती वृद्धालाई आफ्नोभन्दा बढि छोरालाई केही भइहाल्लाकी भन्ने चिन्ता थियो।
जहिल्यै अस्पतालमा पुग्दा ती वृद्धाले डा. अरुणलाई भन्थिन्, ‘डाक्टरसाप मेरो छोरा चाहिँ म मर्नुअघि मर्न दिनु हुँदैन है। म बाँचुञ्जेल मेरो छोरा बचाइदिनु।’
ती वृद्धाको जिज्ञासामा डा. अरुणको जवाफ हुन्थ्यो, ‘आमा तपाईंको छोरालाई ठिक छ। केही हुँदैन।’
ती वृद्धालाई पनि किमोथेरापी चलाउनुपरेको थियो। रोगको जटिलताका कारण वृद्धालाई किमो दिन तीन दिन लाग्थ्यो भने उनका छोरालाई एक दिन लाग्थ्यो। तर, छोरालाई सञ्चो भएको देख्दा ती वृद्धा किमोथेरापीको साइड इफेक्ट पनि खासै देखिँदैनथ्यो।
तर, जब छोरालाई रोगले बढी च्याप्थ्यो ती वृद्धालाई किमोथेरापीको साइड इफेक्टले पनि बढी च्यापेको देखिन्थ्यो। तर, जटिलताको दृष्टिले वृद्धामा भएको क्यान्सर बढी जटिल भए पनि फैलावटको दृष्टिले उनको छोरामा भएको क्यान्सर बढी देखियो।
दश दिनअघिसम्म ठमठम हिँडेर अस्पताल पुगिरहेका ती बिरामीको मृत्युको खबर सुन्दा डा. अरुण झसङ्ग भए। मिर्गौलामा मात्रै हो, फोक्सोमा क्यान्सर छैन भनेर उपचार थाल्दा करिब साढे दुई वर्ष बाँचेका थिए ती बिरामी।
उपचारकै क्रममा समेत वृद्धाको तुलनामा उनको छोराको शरीरमा छिटो क्यान्सर फैलिएको थियो। छोराको क्यान्सर फैलिएर हड्डी, कलेजो जस्ता अंगमा पुगेको थियो। तर, चिकित्सकको टिमले जति औषधि उपचार गरे पनि ती वृद्धाको कामना पूरा हुन सकेन।
उपचार थालेको करिब छ महिनामा ती वृद्धाका छोराको मृत्यु भयो। छोराको मृत्यु हुनु अघिल्लो दिन मात्रै पनि उनले डा. अरुणलाई भनेकी थिइन्, ‘डाक्टर साप छोरालाई मर्न दिनु भएन है। मेरो एउटा मात्रै छोरा हो। मेरो किरिया गर्ने समेत कोही हुँदैनन्।’
आमाले व्यक्त गरेको त्यो चिन्तापछि डा. अरुणले ती वृद्धालाई, ‘तपाइँको छोरालाई केही हुँदैन। ठिक हुन्छ’ भन्दै बाँच्ने आश्वासन दिएका थिए। तर, छोरालाई बचाउन सम्भव भएन। छोराको मृत्युपछि भोलिपल्ट ती वृद्धाले डा. अरुणलाई भेटिन्।
छोरा बचाउन सम्भव नभएपछि ती वृद्धालाई के जवाफ दिने भन्ने चिन्तामा थिए डा. अरुण। तर, वृद्धाले भाव विह्वल भएर रुँदै डा. अरुणलाई भनिछन्, ‘डाक्टरसाप तपाईंहरूले बचाउने प्रयास गर्नु भएकै हो। रोग नै यस्तो रहेछ। निष्ठुरी दैव यस्तै रहेछ।’
ती वृद्धाको भनाइले डा. अरुणको मन भारी भयो। छोरा बित्नुअघिसम्म आमा आफैँ हिँडेर अस्पताल पुगेर उपचार गर्न सक्ने अवस्थामा थिइन्। छोराको मृत्यु हुनु एक महिनाअघि स्वास्थ्य परीक्षण गरेर रिपोर्ट हेर्दा वृद्धाको शरीरमा क्यान्सर समेत देखिएको थिएन।
शरीरमा क्यान्सर भए पनि देखिने अवस्थामा थिएन। ठिक हुँदै गएको थियो। तर, छोराको मृत्यु भएपछि उनी एक्कासी गलिछन्। छोराको मृत्यु भएको करिब दश दिनमा त ती वृद्धाको समेत मृत्यु भएछ।
डा. अरुणले भने, ‘एक्टिभ हुँदा–हुँदै पनि छोरा बितेको दश दिनमा त आमा पनि बित्नुभएछ।’
बिरामीले नै म कहिलेसम्म बाँच्छु भनेर सोधेपछि...
करिब ४४ वर्षका एक शिक्षित र राजनीतिमा समेत आबद्ध भएका नेतालाई मिर्गौलाको क्यान्सर भएछ। क्यान्सर फैलिएर फोक्सोसम्म पुगिसकेको थियो। ती बिरामी सायद भारतमा हुनुपर्छ स्वास्थ्य परीक्षण गरेर फर्किएका रहेछन्।
स्वास्थ्य परीक्षणपछि मिर्गौलाको क्यान्सर फैलिएर फोक्सोमा पुगेपछि निको हुन कठिन हुन्छ भन्ने बुझाइका साथ जीवनको आशा नै मारेर पाटन अस्पताल पुगेछन्। पाटन अस्पतालमा पुगेका ती बिरामीको डा. अरुणले स्वास्थ्य परीक्षण गरे।
उनले डा. अरुणलाई सोधेछन्, ‘डाक्टर साप मेरो फोक्सो कस्तो छ? अब म कति बाँच्छु?’
डा. अरुणले हौसला दिँदै भनेछन्, ‘नियमित औषधि उपचार गर्नुपर्छ, केही हुँदैन। फोक्सोमा पनि समस्या छैन।’
ती बिरामीको क्यान्सर फोक्सोमा पुगेको भए पनि फोक्सोमा भएको क्यान्सर औषधि उपचारपछि हट्दै गएको थियो।
उपचारका लागि फलोअपमा अस्पताल पुग्दा प्रत्येक पटक डा. अरुणलाई ती बिरामीको प्रश्न हुन्थ्यो, ‘डाक्टर साप फोक्सो कस्तो छ?’
डा. अरुण पनि फोक्सोमा केही समस्या छैन भनेर बिरामीलाई हौसला दिँदै उपचार गरिरहन्थे।
‘कोही बिरामी आएर डाक्टरसाप मलाई क्यान्सर लाग्यो अब कति बाँच्छु भनेर सोध्नुहुन्छु। क्यान्सर फैलिएर चौथो स्टेजमा पुगिसकेको हुन्छ, कसरी जवाफ दिने?’
तर, करिब अढाई वर्षको उपचारपछि बिरामीको फोक्सोमा फेरि साना-साना गिर्खा देखियो। परामर्शका क्रममा बिरामीलाई ति गिर्खा क्यान्सर नहुन पनि सक्ने जानकारी दिए उनले। त्यसैले थप स्वास्थ्य परीक्षण गर्न लगाए।
थप स्वास्थ्य परीक्षणको तीन महिनापछि बिरामीको फोक्सोको ट्युमर अलि बढेको देखियो। त्यसैले उनको फोक्सोमा क्यान्सर भएको हो वा हैन भनेर पहिचान गर्नका लागि एफएनएसी विधिबाट परीक्षण गरेर हेर्नुपर्ने डा. अरुणले सुझाव दिए।
त्यसपछि भने ति बिरामी साँच्चै आत्तिएछन्। अनि भनेछन्, ‘डाक्टर साप साँच्चै क्यान्सर हो त यो?’
डा. अरुणले क्यान्सर हुन पनि सक्ने र नहुन पनि सक्ने जवाफ दिएछन्। त्यो दिनसम्म हँसिला ति बिरामी फोक्सोमा भएको त्यो ट्युमर के हो भनेर परीक्षण गर्नुपर्छ भनेपछि निरास भएछन्।
डा. अरुणले जति राम्रोसँग परामर्श दिए पनि त्यो दिन भने ति बिरामी निरास र अँध्यारो अनुहार लगाएर घर फर्केछन्। भोलिपल्ट ती बिरामीका भाइ डा. अरुणलाई भेट्न पुगेछन्। बिरामीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा राम्रोसँग बुझ्न भाइलाई पठाएका रहेछन्।
डा. अरुणले औषधि परिवर्तन गर्नुपर्ने हुनसक्ने देखिएको तर नआत्ती उपचार गरिरहन परामर्श दिए। त्यसपछि बिरामीका भाइ घर फर्के। तर, बिरामीले भने एक्कासी कुनै पनि औषधि सेवन नै गर्न छाडेछन्।
भाइलाई परामर्श दिएको करिब दश दिनमा बिरामीका ती भाइले डा. अरुणलाई फोन गरेर भनेछन्, ‘डाक्टरसाप दाइ त बित्नुभयो।’
दश दिनअघिसम्म ठमठम हिँडेर अस्पताल पुगिरहेका ती बिरामीको मृत्युको खबर सुन्दा डा. अरुण झसङ्ग भए। मिर्गौलामा मात्रै हो, फोक्सोमा क्यान्सर छैन भनेर उपचार थाल्दा करिब साढे दुई वर्ष बाँचेका थिए ती बिरामी।
तर, फोक्सोमा पनि क्यान्सर छ की भनेर थप परीक्षण गर्नुपर्ने जानकारी दिएको दश दिनमा नै मृत्यु भएको घटनाले उनले परामर्श दिँदा निक्कै ध्यान दिनुपर्ने रहेछ भन्ने विषयको बोध गरे।
डा. अरुलाई अहिलेसम्म खट्किने प्रश्न हो, ‘फोक्सोमा ट्युमरको विषयमा जानकारी नदिएको भए ति बिरामी अझै केही समय बाँच्थे की?’
‘म कहिलेसम्म बाँच्छु डाक्टरसाप?’
डा. अरुणकहाँ पुग्ने क्यान्सर लागेकामध्ये कयौं बिरामीले म कति बाँच्छु डाक्टर साप? भन्दै पश्न सोध्छन्।
त्यसरी प्रश्न सोध्दा भने उनको मन चसक्क हुन्छ। मन भारी हुन्छ। कयौं अवस्थामा उत्तर दिन समेत उनलाई कठिन हुन्छ। अनि बिरामीलाई सम्झाउन थाल्छन्। उपचारपछि बाँचिने आशा र हौशला दिन्छन् उनी।
‘कोही बिरामी आएर डाक्टरसाप मलाई क्यान्सर लाग्यो अब कति बाँच्छु भनेर सोध्नुहुन्छु,’ उनले सुनाए, ‘क्यान्सर फैलिएर चौथो स्टेजमा पुगिसकेको हुन्छ, कसरी जवाफ दिने?’
तर, बिरामी यती बाँच्छन् र उती बाँच्छन् भनेर समय तोक्न नहुने डा. अरुणको धारणा छ। एक जना व्यक्तिलाई काम गरेको औषधिले तुलनात्मक रुपमा अर्को व्यक्तिलाई काम नगर्न पनि सक्छ।
फर्मालिन हालेर माछा पठाउनका लागि माछा प्याक गरिसकेपछि नबिकेका माछा उनीहरू खाँदा रहेछन्। त्यसपछि डा. अरुणले रोगको कारण पत्ता लगाइहाले। कारण थियो फर्मालिन।
कोही लामो समय बाँच्न सक्ने अनि कसैको चाँडै पनि मृत्यु हुनसक्छ। उस्तै प्रकृतिको क्यान्सर भएको व्यक्ति उपचारपछि कोही २/३ महिना त कोही २/३ वर्ष वा सो भन्दा बढी बाँच्छन्। उपचारपछि रोग ठिक हुनसक्छ।
त्यसैले म कहिले मर्छु भनेर सोध्ने बिरामीलाई डा. अरुण जवाफ दिन्छन्, ‘एक दिन त सबैजना मरिहालिन्छ नि! संसारमा मृत्यु सत्य हो भन्ने थाहा छ। मृत्यु कहिलेभन्दा पनि जति बाँचिन्छ त्यो बेलासम्म स्वस्थ र समस्यारहित तरिकाले खुसीले बाँच्ने उदेश्य हुनुपर्छ।’
माछा व्यापारी दाजुभाइलाई नै क्यान्सर भएपछि...
प्रसंग करिब वर्षअघिको हो। ठूलो आन्द्राको क्यान्सर भएर करिब ५२ वर्षका पुरुष पाटन अस्पताल पुगे। करिब चार महिना उपचार गरेपछि करिब ४८ वर्षका भाइलाई पनि स्वास्थ्य समस्या निम्तिएछ। स्वास्थ्य परीक्षणको क्रममा ती भाइलाई पनि ठूलो आन्द्रा कै क्यान्सर भएको थाहा भयो।
दाजुभाइकै पाटन अस्पतालमा उपचार भयो। दाजुभाइलाई नै क्यान्सर देखिएपछि वंशाणु कारण पो हो की भनेर अध्ययन गर्न थाले डा. अरुणले। तर, वंशाणु नभएको पत्ता लाग्यो। त्यसपछि उनले थप अध्ययन गर्न थाले। एक दिन दाजुभाइलाई नै डा. अरुणले उनीहरूको पेशाबारे सोधे।
जवाफमा दाजुभाइले नै एकै किसिमको उत्तर दिएछन्, ‘हामी माछा व्यापारी हौं।’
ती दाजुभाई ठूला माछा व्यापारी रहेछन्। नेपालको धेरै ठाउँमा माछा बेच्दा रहेछन् उनीहरू। कहिलेकाहिँ त भारतको उत्तर प्रदेश र बिहारमा समेत माछा बेच्दारहेछन्।
त्यसपछि पुनः डा. अरुणले त्यत्रो टाढा–टाढा कसरी बिग्रन नदिई माछा पुर्याउनुहुन्छ त? भनेर सोध्दा जवाफमा ती दाजुभाइले भनेछन्, ‘माछामा फर्मालिन हालेपछि बिग्रँदैन नि!’
फर्मालिन हालेर माछा पठाउनका लागि माछा प्याक गरिसकेपछि नबिकेका माछा उनीहरू खाँदा रहेछन्। त्यसपछि डा. अरुणले रोगको कारण पत्ता लगाइहाले। कारण थियो फर्मालिन। फर्मालिन हालेकै माछा खाएर ती दाजुभाईलाई आन्द्राको क्यान्सर भएको निष्कर्षमा उनी पुगे।
आन्द्राको शल्यक्रिया गर्नुपरेको ती दाजुभाइ एक वर्षको उपचारपछि ठिक भएर घर फर्किएको डा. अरुण बताउँछन्।
जन्म जुम्ला, एमबीबीएस चीनमा
अरुण जुम्लाको खलंगास्थित भारती बाडामा जन्मिएका हुन्। सानैमा उनको परिवार बसाइँ सरेर बर्दियाको राजापुर (साबिक दौलतपुर गाविस)मा झर्यो। उनले स्थानीय विद्यालयमा नै चार कक्षा सम्म पढे।
त्यसपछि कैलालीको टीकापुर पुगेर पाँचमा भर्ना भएर खड्ग मेमोरियल विद्यालयमा अध्ययन गर्न थाले। त्यहीँबाट उनले २०५७ मा प्रथम श्रेणीमा एसएलसी गरे। एसएलसीपछि काठमाडौं आएर गैरिधाराको सान इन्टरनेश्नल कलेजबाट प्लस्टु गरे।
अरुणलाई डाक्टरी अध्ययन गर्ने ठूलो इच्छा थियो। त्यसैले छात्रवृति कोटामा एमबीबीएस अध्ययनका लागि उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षा मन्त्रालयकोछात्रवृति कोटा जस्ता ठाउँमा परीक्षा दिए। तर, छानिएनन्।
दुई वर्षपछि उनले चीनमा एमबीबीएस अध्ययन गर्ने मौका पाए। त्यसैले उनी सन् २००५ मा एमबीबीएस अध्ययनका लागि चीन पुगे। हार्बिन मेडिकल युनिभर्सिटीमा अध्ययन गर्न थाले।
सन् २००७ मा एक वर्ष त उनी विश्वविद्यालयकै मेडिसिन विधाको तर्फबाट सर्वोत्कृष्ट विद्यार्थीका रूपमा नै छनोट भए। सन् २०१० मा एमबीबीएस गरेर उनी नेपाल फर्के। एक वर्ष विभिन्न अस्पतालमा इन्टर्नसिप गरेर रामेछापको मन्थलीमा मेडिकल अधिकृत भएर गए डा. अरुण।
छनोटमा क्यान्सर रोग, जागिर पाटनमा
त्यसपछि सन् २०१३ डा. अरुणथप अध्ययनका लागि बंगलादेशको ढाका पुगे। उनले बंगबन्धु शेख मुजिफ मेडिकल विश्वविद्यालयमा स्नातकोत्तर तहको मेडिकल अंकोलोजी (क्यान्सर रोग) विषयमा एमडी अध्ययन गर्न थाले। त्यो पाँच वर्षे एमडी थियो। जुन डीएम सरहको विशिष्ठिकृत अध्ययन हो।
अध्ययनका क्रममा क्यान्सर रोग विषय अध्ययन गरेका विद्यार्थीका लागि जनस्वास्थ्यका विषयमा पनि ज्ञान हुन आवश्यक हुने कुरा उनका गुरुहरुले सुझाव दिन्थे। त्यसैले मेडिकल अंकोलोजी विषय अध्ययनकै क्रममा उनले स्नातकोत्तर तहको जनस्वास्थ्य (पब्लिक हेल्थ/एमपिएच) विषय समेत अध्ययन गरे।
कतिपय क्यान्सरका बिरामीहरू नेपालमा राम्रो उपचार नहोला भन्ने सोचका कारण भारतमा पुगेको पाए उनले। त्यसको अध्ययनका लागि उनै भारतको एक अस्पताल नै पुगे।
मेडिकल अंकोलोजी र एमपीएच अध्ययन सकेपछि डा. अरुण सन् २०१९ मा नेपाल फर्के। नेपाल फर्केपछि डा. अरुण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा लेक्चररको करार जागिरेका रूपमा काम गर्न थाले। त्यो बेला पाटनमा उनी एक्लो क्यान्सर रोग विशेषज्ञ थिए। उनी २०७९ माघमा प्रतिष्ठानको स्थायी चिकित्सक भएर सहायक प्राध्यापकको रुपमा कार्यरत छन्।
चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई पढाउने अनि अस्पताल पुगेका क्यान्सरका बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नु डा. अरुणका मुख्य काम हुन्। सुरुवाती दिनहरूमा पाटनमा मेडिकल अंकोलोजीको युनिट सुरू गर्न राम्रै मेहनत गर्नुपरेको उनले सुनाए।
पाटन अस्पतालमा इन्टरनल मेडिसिन विभाग अन्तर्गत मेडिकल अंकोलोजी युनिट छ। युनिट प्रमुखका रूपमा उनी कार्यरत छन्। त्यो बेलाका प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुख लगायतको राम्रो पहल र मेहनतपछि मेडिकल अंकोलोजी वार्डको समेत व्यवस्था गरेर बिरामीलाई भर्ना गरेरै उपचार सुरु गर्न सम्भव भएको उनले सुनाए।
अनुसन्धानले पुरस्कृत
बिरामीको औषधि उपचारमा मात्रै हैन। क्यान्सर सम्बन्धी जनचेतना फैलाउन तथा अध्ययन र अनुसन्धानका सवालमा पनि डा. अरुण उत्तिकै सक्रिय छन्।
‘नेपालमा स्तन क्यान्सर भएका महिलाहरू किन ढिलो अस्पताल पुग्छन्?’ भन्ने विषयमा उनले तयार गरेको कार्यपत्र सन् २०२२ सेप्टेम्बरमा जर्मनीको वर्लिनमा भएको अन्तर्राष्ट्रिय स्तन क्यान्सर सम्मेलनमा उत्कृष्ट कार्यपत्रको रूपमा छनोट भएको थियो।
सोही वर्षको नोभेम्बरमा सिंगापुरमा भएको अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा पेटको क्यान्सर सम्बन्धी उनले प्रस्तुत गरेको कार्यपत्र पनि सर्वोत्कृष्ट भई पुरस्कृत भएको थियो।उनी युरोपियन सर्टिफाइड मेडिकल अंकोलोजिष्टसमेत हुन्।
समयमा नै क्यान्सरको पहिचान गरी उपचार गरे रोग निर्मूल हुनसक्ने डा. अरुण बताउँछन्। त्यसो त कतिपय क्यान्सरका बिरामीहरू नेपालमा राम्रो उपचार नहोला भन्ने सोचका कारण भारतमा पुगेको पाए उनले। त्यसको अध्ययनका लागि उनै भारतको एक अस्पताल नै पुगे।
भारतको अस्पतालमा एक महिनाको अवलोकनपछि भारतमा बिरामीलाई गरिने व्यवहार, उपचार विधि लगायतका विषयमा जान्ने मौका पाए उनले। जसले नेपाल फर्केपछि बिरामीलाई दिने परामर्शका लागि थप सजिलो भयो। डा. अरुणकी श्रीमती पनि चिकित्सक नै हुन्। उनीहरूका दुई छोरा छन्।
जेठ ६, २०८० शनिबार १८:०१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।