चेन्नईको प्ले-अफ यात्रामा आज दिल्ली तगारो
एजेन्सी : आईपीएल उपाधिको प्रबल दाबेदार मानिएको चेन्नई आज लिग चरणको अन्तिम खेलमा दिल्लीसँग भिड्दै छ।
लिगमा १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा रहे पनि धोनीको कप्तानीमा रहेको चेन्नईको प्ले-अफमा स्थान सुरक्षित भइसकेको छैन।
आज दिल्लीलाई हराएमा भने चेन्नईले लिगको पहिलो स्थानमा उक्लँदै प्ले-अफमा ठाउँ पक्का गर्नेछ। तर यसमा लिगबाट बाहिरिसकेको दिल्ली तगारो बन्ने पक्का छ।
नेपाली समयअनुसार ३:४५ बजे हुने आजको पहिलो खेल एक त दिल्लीको घरेलु मैदानमै हुँदैछ भने अर्को तर्फ प्रतियोगिताबाट बाहिरिसकेको हुनाले दिल्लीलाई गुमाउन केही पनि छैन।
आफू बाहिरिसके पछि अरुको नतिजा बिगार्न लागेको दिल्लीले अघिल्लो खेलमा सानदार ब्याटिङ गर्दै पन्जाबलाई १५ रनले हराएको थियो। यो सिजन दिल्लीले २०० रन पार गरेको पनि यसै खेलमा हो।
तर लिगको पहिलो चरणको खेलमा दिल्लीविरुद्ध २७ रनको जित हात पारेको चेन्नईलाई हराउन त्यति सहज भने छैन।
यो खेल हारे पनि चेन्नईको प्ले-अफको सम्भावना भने कायमै रहन्छ। तर त्यसका लागि अरुको नतिजामा भर पर्नु पर्ने हुन्छ।
जेठ ६, २०८० शनिबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।