उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएपछि उडान स्थगित

उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएपछि उडान स्थगित

काठमाडौं : जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ।

उक्त जहाज काठमाडौं उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन्।

बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौं उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकिएको थियो।

यसपछि जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उक्त जहाज काठमाडौंबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो। जहाजमा ४९ यात्रु रहेका थिए।

प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन्। प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ। सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं ल्याइसकिएको छ।

जेठ ६, २०८० शनिबार १३:०६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।