एभरेस्ट बैङ्कका कर्मचारी मिलेर बचतकर्ताको डेढ करोड 'ठगे' , ठगीमा म्यानेजरदेखि टेलरसम्म

एभरेस्ट बैङ्कका कर्मचारी मिलेर बचतकर्ताको डेढ करोड 'ठगे' , ठगीमा म्यानेजरदेखि टेलरसम्म

इटहरी : इटहरीमा रहेको एभरेस्ट बैङ्कको शाखाका म्यानेजरदेखि टेलरसम्मका कर्मचारी मिलेर विभिन्न बचतकर्ताको खाताबाट डेढ करोड रकम निकालेर ठगी गरेको घटना सार्वजनिक भएको छ।

सुनसरीको प्रहरीले बैङ्कको शाखा म्यानेजरसहित ९ जना कर्मचारीलाई पक्राउ गरेपछि शाखाका एक हैन पुरै युनिटै मिलेर ग्राहकको बचत रकम निकालेर ठगी गरेको घटना सार्वजनिक भएको हो।

प्रहरीले इटहरीका शाखा प्रमुख म्यानेजर विश्वराज शाक्य, अप्रेसन इन्चार्ज नीरज प्रधान, सुपरभाइजर धावा लामा, कनिष्ठ सहायकहरू मनोज घिमिरे,  देवराज घिमिरे, रञ्जित पण्डित र टेलर पवित्रा कटवाललाई पक्राउ गरेको हो।

शङ्कर भुजेल र अजय खिउजु सहयोगीको आरोपमा समातिएका छन्।

प्रहरीका अनुसार उनीहरू मिलेर एभरेस्ट बैङ्क इटहरी शाखाका ३३ जना बचतकर्ताको  खाताबाट एक करोड ५० लाख २३ हजार रुपैयाँ अनधिकृत रूपमा निकालेका थिए।

ठगीका लागि उनीहरूले बैङ्कको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरेका थिए।

खातावालाको युजरनेम र पासवर्ड दुरुपयोग गरेर कनेक्ट  आइपीएसमार्फत् उनीहरूले १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैङ्कका विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार रुपैयाँ अनधिकृत रूपमा निकालेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी स्रोतले बतायो।

बैङ्किङ सिस्टम दुरुपयोग गरेर ग्राहकको निष्क्रिय रहेको खातालाई आफैँ सक्रिय गराएर ३५ लाख ४८ हजार निकालेका थिए।

उनीहरूमाथि बैङ्किङ कसुर र सङ्गठित अपराधमा  जिल्ला अदालत सुनसरीबाट म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ।

जेठ ५, २०८० शुक्रबार २३:३५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।