नागरिक उन्मुक्ति पार्टीका कारण सुदूरपश्चिम सरकार विस्तार रोकियो

नागरिक उन्मुक्ति पार्टीका कारण सुदूरपश्चिम सरकार विस्तार रोकियो

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम आज रोकिएको छ। 

मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले भोलि शनिबारसम्म समय मागेकाले आज मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताए। शाहीले भने, 'नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेको छ, उहाँहरूको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्छ।'

विस्तार हुन लागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये एक जना र नेकपा (माओवादी केन्द्र)बाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको शाहीले बताए।

माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ।

यसअघि आजै बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थि। 

प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पार्टीभित्रको आन्तरिक छलफल र सत्ता गठबन्धन दलसँगको छलफलसमेत टुङ्गिन बाँकी रहेको बताए।

आफूहरूले दुई मन्त्रालयमा मागेको उनले बताए। 

गत मंसिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेशसभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो।​​​​​​​

विधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त भएका थिए।

त्यसपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

फेरिएको राजनीतिक समीकरणसँगै शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एसको समर्थन छ। संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उनले सजिलैसँग विश्वासको मत पाएका थिए। 

मुख्यमन्त्री शाहको नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन्।

कांग्रेसका युवा नेतासमेत रहेका प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपा एसका युवा नेता नरेशकुमार शाहीले आर्थिक मामिला मन्त्रालय सम्हाल्दै आएका छन्। 

जेठ ५, २०८० शुक्रबार २१:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।