तनहुँमा अज्ञात रोगले पाँच भैंसी मरे, लम्पीको आशंका

तनहुँमा अज्ञात रोगले पाँच भैंसी मरे, लम्पीको आशंका
फाइल तस्वीर

तनहुँः देवघाट गाउँपालिकामा अज्ञात रोगका कारण पाँच पशु मरेका छन्। लम्पी रोगको संक्रमण बढिरहेका बेला देवघाटमा पाँच भैंसी मरेका हुन्। 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले के कारणले पशुको मृत्यु भयो भन्ने खुल्न बाँकी रहेको बताए। 'जिल्लाभर यतिबेला लम्पी रोगको संक्रमण बढिरहेका बेला देवघाटमा पाँच पशु मरेको खबर आएको छ, यही रोगका कारण हो वा होइन भन्ने पुष्टि भइसकेको छैन,' डा श्रेष्ठले भने। 

लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ। 'यो रोग लागेको खण्डमा उत्पादनमा ह्रास भने आउँछ, तर मृत्यु नै हुने खालको रोग भने होइन,' उनले भने। 

जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको संक्रमण देखिएको छ। जिल्लाका आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको संक्रमण देखिएको हो। 

लम्पी रोगका कारण कृषकले पालेका पशुहरु बिरामी पर्न थालेका छन्। गाईभैँसीमा ज्वरोसहित शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउनेजस्ता लक्षण देखिएको देवघाट गाउँपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख दीपकसिंह धामीले जानकारी दिए। 

'केही वडामा गाईभैंसीमा लम्पीस्किन रोग देखा परेकाले आवश्यक सजगताका लागि कृषकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ, यसको ठोस उपचार नभएकाले लक्षणअनुसार उपचार गर्नुपर्ने अवस्था छ,' उनले भने। 

गाउँपालिकाले गोठ र मलखादको दूरी १० मिटर कायम गर्न, गोठ नियमित रूपमा फिनेल पानी सफा गर्न, पशु बाँध्ने गोठमा दिसा, पिसाब तथा पानी जम्न नदिन कृषकलाई आग्रह गरेको छ।

भिमाद नगरपालिकाका केही स्थानमा गाईभैँसीमा लम्पी रोग देखा परेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले यसको ठोस उपचार नभएकाले आवश्यकता सतर्कता नै प्रमुख उपाय भएकाले कृषकलाई सोही बमोजिम गर्न भनिएको जानकारी दिए। ​​​​​​​

आँबुखैरेनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालका अनुसार विभिन्न वडामा यो रोग देखिएको छ।

हालसम्म यो रोगविरुद्ध खोप उपलब्ध नभएकाले लक्षणअनुसार नै उपचार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिए। 

बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा गाइभैँसीमा भाइरसबाट लाग्ने लम्पी रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले कृषकले यसबारे जानकारी गराएकाले पालिकाले अनुगमन गर्ने बताए।

जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परेकाले यसबाट गाइभैँसीलाई बचाउन सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए। 

गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको संख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले बताए।

उनका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन् समस्या आउने तथा गर्भपतन हुन सक्ने सम्भावना रहन्छ। उनले भने, 'यो रोग भाइरसबाट लाग्ने भएकाले प्रभावकारी उपचार छैन। यसको सबैभन्दा राम्रो उपाय भनेको रोग लाग्न नदिनु नै हो।'

जेठ ५, २०८० शुक्रबार १८:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।