पेट्रोल तस्करी आरोपित चोपनारायणले बुझाए २९ लाखभन्दा बढी धरौटी

पेट्रोल तस्करी आरोपित चोपनारायणले बुझाए २९ लाखभन्दा बढी धरौटी

बुटवलः नेपाल आयल निगमको कारबाहीमा परेका बुटवलका ट्यांकर सञ्चालक चोपनारायण श्रेष्ठले २९ लाख रुपैयाँभन्दा बढी धरौटी बुझाएका छन्। 

लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट वैशाख ८ गते लु२ख ४८३९ नम्बरको ट्यांकरले इन्धन तस्करी भएको पुष्टि भएपछि पेट्रोलियम पदार्थको ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधन सहित) गरी श्रेष्ठ र चालकमाथि निगमले कारबाही गरेको थियो। 

भारतीय आयल कर्पोरेशन (आईओसी) को बेतालपुरस्थित डिपोबाट स्वीकृत पीडीओ २० किलोलिटरभन्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएको थियो। 

पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको आरोप लाग्दै पटक-पटक जरिवाना र कारबाही भोग्दै आएका श्रेष्ठले यस पटक भने कारबाहीस्वरुप २९ लाख ६ हजार ८० रुपैयाँ जरिवाना बुझाएका हुन्। 

एक्सप्रेस परिवहन सेवा प्रालिको सञ्चालक रहेका श्रेष्ठले धरौटी रकम बुझाएपछि भने उनी हिरासत बस्नबाट जोगिएका छन्। 

ट्यांकरका चालक अजय केसीले भने धरौटी बुझाउन नसकेपछि प्रहरी हिरासतमै छन्। 

श्रेष्ठले २३ हजार ३८३ लिटर पेट्रोलको २८ लाख ६ हजार ८० रुपैयाँ धरौटी र आफ्नो १ लाख जरिवाना गरी कुल २९ लाख ६ हजार ८० रुपैयाँ बुझाएका भन्सार कार्यालय बेलहियाका प्रमुख मनिराम पौडेलले जानकारी दिए। 

निगमका कर्मचारीसहित भलवारी डिपोमा ट्यांकर जाँच गर्दा स्वीकृत पीडीओ २० किलोलिटरभन्दा बढी पेट्रोल भेटिएको थियो।

स्वीकृत कोटाभन्दा ३ हजार ३ सय ८३ लिटर बढी देखिएपछि निगमले प्रहरी, भन्सार र निगमका कर्मचारीसहित मुचुल्का बनाएर ट्यांकर नियन्त्रणमा लिएको थियो।

भन्सार कार्यालयले चालक केसीको ५० हजार जरिवाना र पेट्रोलको २८ लाख ६ हजार ० गरी कुल २ लाख ५६ हजार ८० रुपैयाँ धरौटी माग गरेको थियो। 

ट्यांकर व्यवसायी संघ रूपन्देहीका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठको नाममा रहेको एक्सप्रेस परिवहन सेवा प्रालिमातहत २६ वटा ट्यांकर सञ्चालित छन्।

श्रेष्ठ यसअघि पनि तस्करी आरोपमा संलग्न पुष्टि भएपछि कारबाहीमा परेका थिए।

अहिले पनि सर्वोच्च अदालतमा उनीविरुद्ध दायर भएको मुद्दा किनारा लागिसकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ७ वर्ष पहिले यससम्बन्धी मुद्दा दायर गरेको थियो।

उक्त मुद्ददाको अन्तिम किनारा नलाग्दै श्रेष्ठकै ट्यांकर पेट्रोल तस्करीको आरोपमा कारबाहीमा परेको हो।

त्यस्तै, नेपाल आयल निगमले चालक केसीलाई सधैंका लागि आयल निगमका ट्यांकर चलाउन बन्देज लगाएको छ।

त्यस्तै सम्बन्धित ट्यांकरलाई तीन महिनासम्म तेल ढुवानी गर्न बन्देज लगाएको छ। 

ट्याङकरमा बढी पेट्रोल ढुवानी गर्नु सुरक्षाको हिसाबले जोखिम हुन्छ। 

तर श्रेष्ठको ट्यांकरमा भने झण्डै चार सय लिटर बढी पेट्रोल भेटिएको नेपाल आयल निगम भलवारी डिपोका प्रमुख जगदीश चन्द्र यादवले बताए। ‘ट्यांकरले सुरक्षाका लागि स्पेस नछोडी जोखिम मोलेर पेट्रोल भरेर ल्याएको अवस्थामा भेटिएपछि कारबाही गरिएको हो,’ उनले भने। 

अहिले इन्धन चोरी तस्करी र चुहावट रोक्न लकिङ प्रणाली जडान ट्यांकरमा जडान हुने गरेको छ। विगतमा इन्धन चोरी भएपछि यो प्रणाली जडान गरिएको हो। 

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धन ढुवानी गर्ने ट्यांकरहरूमा आयल निगम आफैंले डिपोबाट लकिङ गरेर पठाएको हुन्छ। नेपाल आयल निगमको डिपोले ट्यांकरमा लगाएको लकिङ भारतीय आयल कर्पोरेसनको डिपोमा पुगेपछि मात्र खोलिन्छ। 

आईओसीमा इन्धन भरेपछि पुनः लकिङ गरिएको ट्यांकर नेपाल आयल निगमको डिपोमा आएपछि खोलेर इन्धन अनलोड गरिन्छ। तर लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट इन्धन तस्करी हुनु गम्भीर विषय मानिन्छ। 

जेठ ५, २०८० शुक्रबार १५:५७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।