युभेन्ट्स युरोपा लिगबाट बाहिरियो, फाइनलमा रोमा र सेभिया भिड्ने
एजेन्सी : युरोपा लिगको उपाधिका लागि इटालियन क्लब रोमा र स्पेनिस क्लब सेभिया भिड्ने भएका छन्।
सेभियासँगको हारपछि अर्को इटालियन क्लब युभेन्ट्स भने सेमिफाइनलबाटै बाहिरिएको छ।
सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सलाई अतिरिक्त समयमा २-१ ले हराउँदै सेभियाले समग्रमा ३-२ को नतिजासँगै फाइनल यात्रा तय गरेको हो। सेभियाको जितमा टोरे र लमेलाले एक/एक गोल गरेका थिए।
यी दुईबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो। यसपछि गए राति भएको खेलमा पनि निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो।
जसको ९५ औं मिनेटमा एरिक लमेलाले गोल गर्दै ६ पटकको उपाधि विजेता सेभियाको अन्तिम दुईमा स्थान पक्का गरे।
त्यसैगरी अर्को सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर लिभरकुसनसँग गोलरहित बराबरी खेलेपछि समग्रमा १-० को जित निकाल्दै रोमा फाइनलमा पुग्न सफल भयो।
सेमिफाइनलको पहिलो लेगमा रोमाले १-० को जित निकालेको थियो। सोही एक गोल नै रोमालाई फाइनल पुग्न पर्याप्त बन्यो।
जेठ ५, २०८० शुक्रबार ०७:५१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।