रघुजीको व्यङ्ग- ‘प्रधानमन्त्रीज्यू खाइलाग्दो देखिनुभाछ’, प्रचण्डको जवाफ- ‘तौल घट्दै गाछ’

रघुजीको व्यङ्ग- ‘प्रधानमन्त्रीज्यू खाइलाग्दो देखिनुभाछ’, प्रचण्डको जवाफ- ‘तौल घट्दै गाछ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफ्नो तौल घट्दै गइरहेको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले आफ्नो  तौल घट्दै गइरहेको बताएका हुन्।

एमाले सांसद् रघुजी पन्तले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले पन्तको आँखालाई समेत धन्यवाद दिए।

‘मान्य सदस्यले मेरो अलि धेरै नै (केहीबेर रोकिएर हाँस्दै) प्रशंसा भनौं कि व्यङ्ग के भन्ने हो। म धेरै खाइलाग्दो भएको छु जस्तो लागेको छैन। मेरो तौल चाहिँ घटिराख्या छ। तपाईंले देख्दा राम्रो देख्नुभएछ, तपाईंको आँखालाई धन्यवाद।’

त्यसअघि पन्तले प्रधानमन्त्रीमाथि प्रश्न गर्दै सोधका थिए, ‘प्रधानमन्त्रीज्यू पहिला भन्दा ह्यान्डसम ह्यान्डसम देखिनुभाको छ। झन् दौरा सुरुवाल लाएर आउनुभाको छ खाइलाग्दो पनि देखिनुभाको छ। कामना छ प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनुभाको छ, नेपाली जनता पनि त्यति नै खाइलाग्दो देखिउन्।’

पन्तले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा आफूले कालापानी, लिपुलेख र लिम्पियाधुराको विषयमा प्रश्न उठाउने बताएका छन्।

उनले अगाडि भने, ‘हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं, हामीलाई अर्काको एक इन्च जमिन पनि चाहिएको छैन। नेपालको राष्ट्रिय हित, अखण्डताको रक्षा गर्ने विषयमा साथीहरूले शंका गर्नुपर्दैन।’

जेठ ४, २०८० बिहीबार १४:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।