दासढुंगा घटनाबारे चालक अमर लामाको तर्क : मदन-आश्रितको हत्या भएको प्रमाणित गर, फाँसीमा झुन्डिन तयार छु
काठमाडौँ : एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित मारिएको दासढुंगा दुर्घटनाका एक मात्र जीवित साक्षी अमर लामा पनि २०६० साउन १२ गते रहस्यमय रुपमा मारिए कीर्तिपुरमा।
डिल्लीबजारको कालिकास्थानबाट अपहरणमा परेका उनलाई किर्तिपुरको नयाँ बजारमा लगेर गोली हानेर मारियो। उनको हत्या कसले अनि किन गर्यो अझैँ रहस्यमै छ। माओवादीले केही कुरा बुझ्न नियन्त्रणमा लिएको र उनी भाग्ने प्रयास गरेपछि गोली चलाउन बाध्य भएकोसम्म दाबी आए। सत्य यही हो या अन्य थाहा छैन।
उनी दासढुंगा घटनामा लारबाहीपूर्वक सवारी चलाएर नेता मदन-आश्रीतको ज्यान लिएको अभियोगमा पाँच वर्ष जेल परेर रिहा भएका थिए। कारागारमुक्त भएपछि पत्रिका चलाएर बसेका थिए उनी।
एमालेले जेठ तीनको सो घटनालाई देशी-विदेशी शक्तिको षड्यन्त्रमा हत्या भएको दाबी गरिरह्यो। अहिले पनि सत्ता बाहिरहुँदा त्यही दोहोर्याउँछन् नेता।
लामाले सो घटनालाई दुर्घटना मात्र भएको तर एमाले नेतृत्वले फाइदाका लागि हत्या भनेर अन्योल बढाएको दाबी गरिरहे।
दासढुंगा घटना भएको ३० वर्ष भयो। एमालेको नेतृत्वमा पटक-पटक सरकार बन्यो। तर अनुसन्धान अगाडि बढेन। एमालेबाहेकको सरकारले पनि कहिल्यै यसको अनुसन्धानमा चासो देखाएन।
तत्कालिन सरकारले दुई वटा न्यायीक आयोग नै बनाएको थियो। त्यसमध्येको दोस्रो आयोग सर्वोच्च अदालतका पूर्व न्यायाधीश त्रिलोक प्रताप राणाको नेतृत्वमा बनेको थियो।
राणा आयोगमा पहिला बयान दिन अस्वीकार गर्दै लामाले पत्र पठाएका थिए। पत्रमा उनले 'यो दुर्घटना मात्र भएको तर एमालेले राजनीतिक फाइदाका लागि हत्या भनेर आफूलाई जेल हालेको दाबी गरेका थिए। पछि उनले आयोगमा बयान भने दिए।
प्रारम्भमा बयानका लागि अस्वीकार गर्दै पठाएको पत्र :
२०५० जेठ ३ गते चितवन जिल्लाको दासढुंगामा भएको जिप दुर्घटनाको सम्बन्धमा सर्वदलीय आयोग गठन भएको जानकारी भयो। दासढुंगामा भएको दुर्घटनाको बारेमा सरकारी र पार्टीस्तरीय गरी पनि आयोग गठन भएको थियो। यो चौथो आयोग हो।
यसको अलावा मैले प्रहरीलाई, नेपाल गुप्तचर विभाग,आयोगहरू, जिल्ला अदालत समक्ष आफ्नो तथ्य सत्य बयान दिइसकेको छु। सायद नेपालको इतिहासमा आजसम्म धेरै लामो बयान दिने मजदुर म नै हुँ भन्दा अति नहोला।
त्यस दुर्घटना पश्चात् एमाले पार्टीबाट जुन किसमका आरोपहरू लगाएका छन्। ती पूर्ण कपोकल्पित र निराधार सिवाय अरू केही नभएको जानकारी दिन्छु।
म यसै निवेदनका साथ के अवगत गराउन चाहन्छु भने, त्यो मात्र दुर्घटना हो र दुर्घटना सिवाय केही नभएको दृढताको साथ जाहेर गर्छु।
साथै यदि जो कसैले त्यसलाई एमाले पार्टीबाट जे जस्तो भनिरहेको छ, अथवा षडयन्त्र र सुनियोजितको जुन कपोकल्पित आरोप छ, त्यसलाई जो कसैले एक रौँ बराबर प्रमाणित गर्न सक्छ भनेँ म लाखौँ जनताको बिचमा फाँसीमा झुन्डिन तयार छु। श्रीमान् जसको साक्षी यही पत्र बन्ने छ।
आज एमाले पार्टीबाट त्यस किसिमको आरोपहरू लगाइरहेको छ जो मेरो सोच र कल्पनाभन्दा बाहिर पर्दछ। जुन पार्टीमा रही पार्टी नै आफ्नो जीवन ठानी समर्पणको भावनाले प्रेरित भई थुप्रै योगदान गरेँ। आज त्यही योगदानको उपज होला सायद यो जेल जीवन ।
दासढुंगाको दुःखद जिप दुर्घटना पश्चात् पार्टीबाट म र मेरा परिवारले जुन किसिमको मानसिक, शारिरिक यातना भोग्नुर्यो त्यो अति नै चरम हो। र त्यो भन्दा अन्तिम कारबाही अर्को नभएको मैले महसुस गरेको छु।
श्रीमान्, आज म एउटा दुर्घटनाको नाउँमा स्वयं विगतमा आफूले योगदान गरेको पार्टीले बलिको बोको बनाई जेल जीवन भोगिरहेको छु। अब म र मेरो परिवारले भोग्न परेको कारबाहीको सीमा यो भन्दा अर्को के हुन सक्छ श्रीमान्?
जहाँसम्म बयानको विषय छ, मैले बयान दिन इन्कार गरेको छु। मेरा पनि केही सर्तहरू छन्। किनकि यस भन्दा अगाडि पनि मैले धेरैचोटी आफ्ना यथार्थ बयानहरू दिइसकेको छु।
र, जब मेरो बयानले कुनै अन्तिम टुङ्गो लाग्दैन वा मेरो बयानलाई कुनै निष्कर्षमा पुर्याइदैन अथवा मैले गरेका बयानप्रति विश्वास हुँदैन भने मैले यसबारे बारम्बार बयान दिई रहनुको कुनै औचित्य रहन्न र देख्दिन पनि श्रीमान्।
हाल नियम विपरीतअन्यायपूर्ण ढङ्गले जेल जीवन व्यतीत गरिरहेको छु। यसरी एक व्यक्ति उपर अन्यायपूर्ण कारबाही हुनु र यसले जेल जीवन बिताइ रहेको अवस्थामा एउटै मुद्दासँग सम्बन्धित रहेर सोही मुद्दामा बयान लिइरहनु मानवीय भावना र मानव अधिकारको सिद्धान्त विपरीत हुन जाला श्रीमान्।
यसर्थ यस आयोगले म सँग बयान लिनु पूर्व अथवा छानबिन हुनु अगावै श्री ५ को सरकारले मेरो मुद्दा तत्काल फिर्ता लिनु पर्दछ भन्ने मेरो माग एवं जिकिर छ श्रीमान्।
मैले यस भन्दा अघि २०५० असार १४ गते चितवन जिल्ला अदालतमा आफ्नो बयान दिइसकेको छु। आयोगले सोही बयान उपर अन्तर्निहित रही आफ्नो छानबिन कार्य गर्न सक्ने छ।
म यसै निवेदन साथ श्रीमान्को के निवेदन जाहेर गर्न चाहन्छु भने चितवन जिल्ला अदालतबाट जहासम्मको कारबाहीको सवाल छ म त्यस अभियोगसँग पनि सहमत छैन।
त्यस लापरबाहीको अभियोगलाई अस्वीकार गर्दै चितवन जिल्ला पूर्ण फैसला उपर चित्त नबुझी त्यसलाई बदर गरी न्यायोचित ढगंले सवारी यातायात व्यवस्था ऐन २०४९ को दफा १६७ अनुसार सफाइ पाइ न्याय पाउँ भनी २०५० चैत ४ गते चितवन जिल्ला कार्यालय कारागार शाखा मार्फत पुनरावेदन अदालत हेटौँडामा निवेदन गरी हाल पुनरावेदन अदालत हेटौँडामा विचाराधीन अवस्थामा कारबाही भएको कुरा जानकारी गराउँछु।
दासढुंगा दुर्घटनापछि एमाले पार्टीबाट जनताहरूलाई अन्यौलता पार्ने कामहरू भइरहेका छन्। किनकि एमालेले सो दुर्घटनापश्चात् दुर्घटनाको वास्तविकता पत्ता लगाउने भन्दा पनि त्यस घटनालाई दुर्घटना मान्ने भन्दा पनि हत्याकाण्डमा परिणत गर्नतर्फ टाउको टेकी लागि पर्यो।
यसले गर्दा जनता दुर्घटनाको बारेमा अन्यौलता परेका छन्। जनतालाई यसरी अन्यौलता पार्ने काम स्वयम् एमालेबाट भइरहेको छ।
एमालेबाट दुर्घटनालाई पार्टीको राजनीतिक स्वार्थ (हतियार) पूर्ति गर्नमा म माथि हजारौँ कपोकल्पित निराधार आरोप लगाइ मलाई बलिको बोको बनाउने कुचेष्टा गर्यो भन्ने कुरामा दुई मत छैन।
यसर्थ यो सम्मानित छानबिन आयोगको अवस्था पनि निष्पक्ष रूपमा आयोगले आफ्नो निष्पक्ष प्रतिवेदन ल्याउने छ भन्ने विश्वास गर्छु। यस आयोगले एमाले पार्टीबाट आम जनतामा भ्रम र शङ्कालाई अवश्य पनि निवारण गर्ने छ भन्ने विश्वास गरेको छु।
अन्तमा यस सम्मानित आयोग समक्ष म पुन के स्पष्ट पार्न चाहन्छु भने २०५० साल जेठ ३ गते दासढुंगामा भएको दुःखद जिप दुर्घटना सडकको अव्यवस्थित भौगोलिक बनावट र मौसमको चरम प्रतिकुलताको कारण मेरो श्रद्धेय अभिभावक एवं नेताद्वय सवार हुनुभएको जिप असन्तुलित अवस्थामा पुगी मेरो काबु भन्दा बाहिर पर्न गई नियन्त्रण गर्दागर्दै अनियन्त्रित भई सो दुर्घटना भएको ब्यहोरा जनाउँछु।
(जिल्ला कारागार, भरतपुर, चितवनमा रहेका लामाले आयोगलाई बयान दिन अस्वीकार गर्दै २०५१ असार १५ मा लेखेको पत्र। उनको हत्या भइसकेको छ।)
दासढुंगा सम्बन्धी सामग्री
जेठ ३, २०८० बुधबार १९:०६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।