गाडी सिक्ने क्रममा लुम्बिनीका सभामुख दुर्घटनामा परे, पर्खालमा ठोक्काए
बुटवलः लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती गाडी दुर्घटनामा परेका छन्।
बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु१झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप सिक्ने क्रममा उनी दुर्घटनामा परेका हुन्।
दुर्घटनामा परेको घटना लुकाउन सभामुखको सचिवालयले गाडी मर्मत गर्ने ठाउँसमेत बदलेको छ।
सभामुख निवासका एक कर्मचारीका अनुसार सभामुख घर्ती आफैँले गाडी सिक्ने क्रममा कम्पाउण्डको पर्खालमा ठोक्काएका थिए।
दुर्घटनामा परेको गाडीमा भित्र ठूलो क्षति भएको छ। दुर्घटनामा पर्नासाथ गाडीलाई मैनाबगरस्थित महेन्द्रा कम्पनीको ग्यारेजमा लगिएको थियो।
तर पछि त्यहाँबाट बुटवलकै बेलबासमा गाडी मर्मतका लागि लगिएको छ। सचिवालयका प्राविधिक सुरज ढकालले अहिले बेलबासमा रहेको भैरव अटोवर्कसपमा गाडीलाई मर्मतका लागि लगिएको बताए।
यसअघि पनि गत वैशाख १ गते सभामुखको गाडी दुर्घटनामा परेको थियो।
त्यो बेलाको टाटा स्ट्रोम गाडी योगीकुटीमा सचिवालयका एक कर्मचारीले सिक्दै गर्दा दुर्घटनामा परेका थियो। लु१ झ ४४७ नम्बरको टाटा स्ट्रोम जिप स्थानीय डिल्लीराज अर्यालको घरमा ठोक्किएको थियो।
सोही विवादका कारण हालसम्म पनि उक्त गाडी मर्मत हुन सकेको छैन।
जेठ ३, २०८० बुधबार १६:२६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।